२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


बुटवलकाे तिलोत्तमा क्षेत्रमा फ्रि-वाइफाई सेवा सञ्चालन


104
Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल बेलहीया सिक्सलेन व्यापारिक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि- वाइफाई सेवा सञ्चालनमा आएको छ ।

लुम्बिनी प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तर्गत फ्रि-वाइफाई सेवाको सोमबार मणिग्राममा एक कार्यक्रमकाबीचमा शुभारम्भ गरिएको हो। योगिकुटिदेखि कोटहिवासम्मको १३ किलोमिटर सडकमा ३८ वटा डिभाइसहरु जडान गरिएको नगरपालिका सूचना प्रविधि उपशाखाका प्रमुख सुदिप ढकालले बताउनुभयाे ।

एक ठाउँमा कनेकशन गरेपछि सोही सडकखण्ड भरी वाइफाईले काम गर्ने उहाँले बताउनुभयाे । एउटा डिभाइसले एक पटकमा २ सय ५६ वटासम्म कनेक्ट गर्न सक्ने क्षमता रहेता पनि अहिले तत्कालको लागि १ सय वटा डिभाइस कनेक्ट हुने र टिकटक भने चलाउन नमिल्ने प्रमुख ढकालले बताउनुभयाे।

कनेक्ट गर्ने वित्तिकै एउटा हट स्पोट खुल्ने त्यसलाई लगइन गरेर इन्टरनेट चलाउन सकिने पनि उहाँले बताउनुभयाे । साथै नगरपालिकाभित्रका व्यवसायहरु के-के छन् । त्यसको सम्पूर्ण विवरण र तिलोत्तमको सबै विवरण आगामी जेठ मसान्तभित्रमा वाईफाई खोलेपछि हेर्न सक्ने गराइने भएकाे छ । वाइफाई जडान गर्दा करिब ८५ लाख खर्च लागेको प्रमुख ढकालले बताउनुभयाे ।

तिलात्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले देशकै नमूना नगरपालिका तिलोत्तमामा स्वदेश तथा विदेशबाट आएकाहरुको र स्थानीयलाई पनि सहज इन्टरनेट प्राप्तिको लागि यो कार्यक्रम शुभारम्भ गर्न लागिएको बताउनुभयाे। कार्यक्रममा बोल्दै साेही नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले यहाँका स्थानीयहरुलाई निकै महत्वपूर्ण काम गर्नका लागि सहजता हुने विश्वासका साथ यो सेवाको शुभारम्भ गरेको बताउनुभयाे ।

यस सेवाले तिलोत्तमा क्षेत्रमा आउने पर्यटकलाई समेत निकै फाईदा पुग्ने विश्वास पनि उहाँले ब्यक्त गर्नुभयाे। साेही कार्यक्रममा जनप्रतिनिध, स्थानीय र पत्रकारहरुको सहभागिता रहेको थियो ।