
काठमाडौं । सरकारी स्वामित्वमा रहको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि विश्व बजारमा देखिएको आर्थिक मन्दीको प्रभाव परेको छ । पछिल्ला केही वर्ष मुनाफामा रहेको कम्पनीले चालु आर्थिक वर्षमा घाटा बेहोर्नु परेको छ । यद्दपि कम्पनीलाई मुनाफामा लैजान बजार व्यवस्थापनसहित नयाँ शाखा खोल्ने र निर्यात बढाउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले विभिन्न प्रकारका तेल, कच्चा पदार्थ, सन्चो, सिलाजित लगायतका २३ प्रकारका सामाग्रीहरु उत्पादन गर्दै आएको छ । स्थापनाको सुरुवाती समयमा नाफा कमाएको कम्पनी पछिल्लो समय भने घाटमा चलेको थियो । सरकारको स्वामित्वमा रहेको कम्पनीले ५ वर्ष अघिसम्म वार्षिक करिब ४ करोड रुपैयाँ घाटा सहनु परेको थियो ।
कम्पनीले अवकाश पाएका कर्मचारीलाई उपदान दिन, कच्चा पदार्थ बढाउन, प्रशोधन उपकरण थप गर्न कोटेश्वरमा रहेको जग्गा उपत्यका विकास प्राधिकरण कम्पनीलाई बेचेको थियो । केही वर्ष लगातार घाटा बेहोरेको कम्पनी पछिल्ला केही वर्षमा नाफामा थियो । तर, आर्थिक मन्दीपछि जडीबुटीले बजार नपाएकाले आर्थिक वर्ष २०७८/०७९ मा डेढ करोडभन्दा बढीको घाटा बेहोरेको हो ।
कर्मचारीका समस्या, कच्चा पदार्थको अभाव, निजी क्षेत्रसँगको प्रतिष्पर्धामा अगाडि आउन नसक्दा कम्पनीको आम्दानी कम र खर्च बढी देखिएको हो । तर, पछिल्लो समय बजार व्यवस्थापनसहित उत्पादनमा जोड, विश्व बजारमा नेपाली जडिबुटी स्थापित गर्ने तथा कर्मचारी भर्ना प्रक्रिया गर्ने गरी कम्पनीलाई नाफामा लैजान जोड दिएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीकी महाप्रबन्धक संगीता यादवले बताउनुभयो ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सन्चो तथा बामको बजारमा माग अत्याधिक हुने गर्दछ । त्यस्तै, प्रति केजी ५० हजार रुपैयाँसम्ममा क्यामोमाइल तेल, १३ हजार रुपैयाँ प्रतिकेजी तेजपत्ता तेल लगायतका उत्पादन कम्पनीले विदेशमा निर्यात गर्दै आएको छ । कम्पनीले बारामा आफ्नै जमिनमा जडीबुटीको खेती गरेर कच्चा पदार्थ उत्पादन गर्दै आएको छ भने केही कच्चा पदार्थका लागि भने टेण्डर आह्वान गर्ने गरेको कम्पनीले जनाएको छ ।
नेपालमा जडिबुटीको उत्पादन, बिक्री वितरणको सम्भावना धेरै छ । जडीबुटी उत्पादन गर्ने संस्थालाई कम्पनीमा दलका कार्यकर्ता करारमा नियुक्ति गर्ने थलो नबनाई कम्पनीको पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्