२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बालमन्दिरमा रहेका बालबालिकालाई उमेर पुगेपछि नागरिक बन्नै कठिन


273
Shares

काठमाडौं । अभिभावकले आफ्नो दायित्व निर्वाह नगरिदिएपछि एउटा निर्दोष बालिकाको जीवनमा आउने परिवर्तनले कस्तो यात्रा तय गर्छ भन्ने उदाहरण हुन– पूजा कुर्मी । आफ्नै परिवारबाट जीवन असुरक्षित भएपछि बालमन्दिरमा आश्रयमा पुर्‍याइएकी पूजा अहिले युवती भएकी छन् । उनले वंशजको आधारमा नागरिकता त पाएकी छन तर पारिवारिक दाउपेचको शिकार हुँदा पारिवारिक वात्सल्य मृगतृष्णा झैं बन्यो ।

सानै उमेरमा बुबाको मानसिक अवस्था कमजोर हुनु, त्यसमथि आमाले दोस्रो विवाह गरेपछि टुहुरी बन्न पुगेकी पूजा अन्ततः मामाघर पुग्न सफल भइन् । आफनै मामाले मावलीपट्टीको हजुरआमाको हत्या गरेको प्रत्यक्षदर्शी बनेकी पुजाकै बयानमा पक्राउ अपराधी पक्राउ परेपछि सानै उमेरमा उनलाई बालमन्दिरको आश्रयमा लगिएको थियो । अभिभावकविहीन भएर उनले बालमन्दिरमा थुप्रै वर्ष बिताइन् ।

जुन मामालाई उनले जेलको पाहुना बनाइन, जेलमुक्त भएर आएपछि तिनै मामाले खोजी गरी उनको पहिचान दिलाए । पूजाको नागरिकता दिलाउन बालमन्दिरले समेत उल्लेखनीय प्रयत्न गर्‍यो । १६ वर्षसम्म अनाथ मानिएकी पूजाको बाँकेस्थित जानकी गाउँपालिकामा घरपरिवार रहेको खुल्यो । अस्वस्थ अवस्थामा रहेका बुबा, हजुबासँग भेट भयो । यही भेटले उनलाई जन्मसिद्ध नागरिकताको प्रमाणपत्र दिलायो । बालमन्दिरमा ल्याउने अभिभावक तथा जो कुसैले पनि बालबालिकाको पहिचान थर खुलाइदियो भने पििरवारसँग भेट्नलाई सहज हुने पूजा कुर्मी बताउछीन् ।

पूजाको जीवन हिन्दी सिनेमाको कहानीभन्दा फरक छैन । परिवारका सदय हुँदाहुँदै पनि बालमन्दिरमा आश्रित हुन पुग्नु, त्यसमाथि १६ वर्षपछि परिवारको सामीप्य पाउनु उनका लागि सामिप्य हो । पूजा भन्छीन् धेरै समयपछि देखेको भएर होला बुवाले अर्का दिन मात्र छोरीलाई चिन्नुभयो ।

पूजा त एक पात्र मात्रै हुन् । बालमन्दिरमा अभिभावकविहीन भई आश्रय लिन पुगेका धेरैजसो बालबालिकाको अभिभावक रहेपनि उनी सम्पर्क बाहिर छन् । बालमन्दिरले अनाथलाई संरक्षण त दिन्छ तर उसका घरपरिवार खोज्ने, जिम्मा लगाउने दायित्व उसको प्राथमिकतामा पर्दैन । त्यसो त बालमन्दिरमा रहँदा जसोतसो त्यहाँको नियममा बाँधिन पुगेका अन्य बालबालिकाको हकमा उमेर पुगेपछि नागरिकता नपाउने समस्या रहेको नेपाल बालसंगठनकी अध्यक्ष बिद्या उपाध्याय न्यौपाने बताउनुहन्छ ।

पूजा अपवाद हुन । बालमन्दिरमा अनाथ जीवन भोगेका थुप्रै बालबालिका किशोरवयमा प्रवेश गर्नासाथ देशको नागरिक हुन पाउने अधिकारबाट वञ्चित हुने गरेका छन् । नागरिकताको अभावमा उनीहरुले भोग्नुपरेको मानसिक मात्र होइन, उनीहरुको व्यावसायिक जीवनकै प्रस्थान बिन्दु अवरोध हुने भएकाले यसलाई सहज बनाउन नीतिगत व्यवस्था हुन जरुरी छ ।