
सिन्धुली । सिन्धुलीमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीहरुको चासो बढ्दै गएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा उपचारका लागि आउने बिरामीहरुको संख्यामा बढ्दै गएकाे हो । भौतिक संरचनाको अभाव, न्यून चिकित्सक तथा विभिन्न कठिनाइका वावजुद पनि केन्द्रले दैनिक जसो स्वास्थ्य उपचारमा आउने बिमारीहरुका लागि उपचार र परामर्श सेवा उलब्ध गराउदै आएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रले दैनिक रुपमा ओपिडी सेवा, निःशुल्क औषधि वितरण, पञ्चकर्म, अक्यूपञ्चर, फिजियोथेरापी, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर लगायत संचालन गर्दै आएको छ । जिल्लाका ९ वटै स्थानीय तह मध्ये ८ वटा स्थानीय तहमा १० वटा आयुर्वेद सेवा संचालन भइरहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अर्जुन उपाध्यायले बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत बिमा रकम तिर्न नसक्ने, आश्रित परिवार र लोपोन्मुख समुदायको निःशुल्क स्वास्थ्य बीमा भैरहेको छ । बागमती प्रदेश सरकारको लक्ष्य अनुसार सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन, सहज रूपमा स्वास्थ्य सेवा दिलाउने अभियान अन्तर्गत आयुर्वेद उपचार पद्धतिलाई बढावा दिएपछि विगत ३ महिनाको समयावधिमा ३ सय ४० जनाले सेवा लिएका छन् ।
विगतमा सिन्धुलीमा ९० प्रतिशतले बिमारीहरुले एलोपेथिक उपचार पद्धति र १० प्रतिशतले आयुर्वेदिक रोज्दै आएका थिए । तर पछिल्लो समयमा भने २० प्रतिशतले आयुर्वेदिक स्वास्थ्य उपचार पद्धति रोज्न थालेको देखिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा दैनिक रुपमा आउने बिमारीहरुलाई आयुर्वेर्दिक औषधि अत्यन्तै फाइदाजनक हुन्छ ।
आयुर्वेर्दिक औषधिकाे चेतना र फाइदाकाे बारेमा समुदायसम्म पुर्याउन सरोकारवाला निकायले समेत सूचना प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्