
डडेल्धुरा । डडेल्धुरामा आलु लगायत तरकारी उत्पादनका लागि नमूना कृषि फार्महरु खुलेका छन् ।
बाँझो जग्गा भाडामा लिएर कृषि फार्म खुलेपछि यस क्षेत्रमा कृषि अवलोकन तथा पर्यटनका लागि सम्भावनाको ढोका पनि खुलेको हाे । ३ दशकदेखि बाँझो रहेको जग्गा भाडामा लिएर आलु तथा अन्य तरकारीको खेती सुरु गरेपछि जिल्लाकै नमूना कृषि फार्म बन्दै गएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोला लकतडामा व्यक्तिगत लगानीमा जिल्लाकै नमूना कृषि फार्म बनेको छ । यहाँका कृषक तथा तरकारी व्यवसायी प्रसाद अवस्थीले डेढ करोड रुपैयाँको लगानीमा ३ दशकदेखि बाँझो रहेको जग्गा लिजमा लिएर आलु तथा अन्य तरकारीको खेती सुरु गरेपछि जिल्लाकै नमूना कृषि फार्म बन्दै गएको हो ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा परिवारको करिब डेढ सय रोपनी पुर्ख्याैली जग्गामा ५ दशकदेखि मात बन्धकीमा गाउँकै देउवा कृषकहरुले खेती गर्दै आएका भएपनि २५ वर्षदेखि बाँझो राखेको जग्गा अहिले कृषि तथा पशुपालन व्यवसाय गर्दा जग्गाको स्वरुप नै परिवर्तन भएको छ ।
तरकारीका लागि उपयुक्त माटो भएकाले कृषि बाली लगाइएको लकतडामा घेराबार, प्रशिक्षार्थी, कृषि प्राविधिकका लागि बस्ने व्यवस्था, माछापोखरी विकास लगायतका संरचना र व्यवस्थापनमा राज्यको ध्यान जानुपर्ने फार्म अवलोकन कर्ताको भनाइ छ । कृषकलाई राज्यले ८५ प्रतिशत अनुदान दिनुपर्ने अवलोकन कर्ताको तर्क छ ।
कृषकले ९० प्रतिशत आफ्नो लगानीमा कृषि प्राविधिकसहित १२ जनालाई रोजगारी दिएर विभिन्न तरकारी र बालीहरु लगाइ कृषि प्रणालीलाई व्यवस्थित रुपमा अगाडी बढाए पनि राज्यको ध्यान पुग्न नसकेको कृषि फार्म सञ्चालक प्रसाद अवस्थीले बताउनुभयो । डडेल्धुराले पछिल्लो समय कृषिमा फड्को मार्दै गएको र कृषि फर्महरु कृषि पर्यटनका लागि सम्भावित क्षेत्र हुन सक्ने भएकोले प्रदेश सरकारले प्रवर्धनात्मक कार्यक्रम ल्याउनुपर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनुभयो ।
डेढ वर्ष अघिको बेमौसमी वर्षाले ५० लाख रुपैयाँको क्षति बेहोरेका अवस्थीले यसवर्ष पनि बारीमा ६० क्विन्टल बीउ आलुसहित भेडे खुर्सानी, टमाटर, बन्दाकाउली र फूलकाउली लगायतका तरकारी लगाउनुका साथै मलका लागि कुखुरापालन र माछापालनलाई पनि निरन्तरता दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्