१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यूरोड, महाबौद्धका व्यापारी भन्नछन् – व्यापार छैन, अनलाइन व्यापारले झन् पीडित बनायो


32.461k
Shares

न्यूरोड, महाबौद्धमै छैन व्यापार, अनलाइन व्यापारले थप पीडित बनाएको व्यवसायीहरुको गुनासो

काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक थलो न्यूरोड, महावौद्धको होलसेल व्यापार चुनावपछि झन् चौपट भएको छ । चुनावपछि राजनीतिक स्थिरता होला र व्यापार सङलिएला भन्ने उनीहरुको आशामा तुषारापात भएको छ । अनलाइन व्यापारले गर्दा आफ्नो व्यवसाय अझ चौपट भएको उनीहरुको अनुभव छ ।

व्यापारमा असर परेको १७ देखि १८ महिना भैइसक्यो यहाँका व्यापारीले चैनको निद्रा पाएका छैनन् । कुनैबेला ९० प्रतिशतसम्मको व्यापार गर्ने व्यापारी अहिले ५ प्रतिशत व्यापार समेत गर्न नसकेको बताउँछन् । व्यवसायमा यसअघि कहिल्यै यस्तो विपत नभोगेको बताउने उनीहरु कुनबेला भागेर जानुपर्ने हो भन्दै दुखेसो पोख्छन् । १७ महिनादेखि व्यापार शून्य जस्तै भएको व्यापारी केदार खड्का बताउनुहुन्छ । उहाँले पछिल्लो समय अनलाइनको व्यापारले पनि असार पारेको बताउनुहुन्छ । त्यस्तै, अर्का व्यापारी राजन ढुंगानाले राज्यको नीति राम्रो नभएसम्म व्यापारीको अवस्थामा सुधार आउन नसक्ने बताउनुहुन्छ ।

सरकारले मुलुकको आर्थिक अवस्था विस्तारै लयमा फर्किएको बताइरहँदा यहाँका व्यापारी आश्वस्त बन्न सकेका छैनन् । बरु बैंकको व्याज बढ्दै जाने, व्यापार नहुने स्थितिले उनीहरु चेपुवामा पर्दै गएका छन् । कोही पुर्खाको व्यवसाय धान्नका लागि व्यापारमा लागेका छन् त कोही उद्यमी बन्ने प्रेरणाले व्यापारमा हात हालेका छन् । यही अवस्था रहे व्यापारमा संलग्न युवा विदेश पलायनको विकल्प नरहेको उनीहरुको भनाई छ । बैंकको व्याज र भन्सारका कारण व्यापार गर्न झ्न समस्या भएको व्यापारी कुमार ढुंगाना बताउनुहुन्छ । सरकारले केही ठोस कदम चाल्नुपर्ने अर्का व्यापारी संजोग तिमिल्सिना बताउनुहुन्छ । उहाँ व्यापार नै छोडेर विदेश पलाएन हुनसक्ने अवस्था आएको बताउनुहुन्छ ।

व्यापारीहरुको संगठन नेपाल व्यापार संघका पदाधिकारी पटक पटक सरकारलाई ध्यानाकृष्ट गर्दा पनि कुनै सुनवाई नभएको भन्दै अब बैंकको उच्च व्याजदर नियन्त्रण नगरे पसल नै बन्द गरी आन्दोलन गर्नुको विकल्प नभएको नेपाल व्यापार संघका सहसचिव खडानन्द तिवारी बताउनुहुन्छ ।

सामान समयमा नआउनु, आएका सामानमा व्यापक भन्सार वृद्धि हुँदा महँगी बढेको अवस्थामा बजार ग्राहकको पहुँचबाट बाहिरिँदै गएको छ । महाबौद्ध मात्र नभई यो समस्या देशभरकै हो । तसर्थ बजार चलायमान बनाउन सरकारको प्रभावकारी सम्बोधन आवश्यक छ ।