५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


फुटुङ अभिलेखको लिपीयान्तर सकियो


1.222k
Shares

काठमाडौं । प्राचिन अभिलेख मानव सभ्यता विकासक्रमको अध्ययनका लागि महत्वपूर्ण मानिन्छ । यस्ता अभिलेखको संरक्षणमार्फत सरकारले मौलिक सभ्यताको ज्ञान आधुनिक समाजका नागरिकलाई दिने अभ्यास विश्वमा व्याप्त छ । तर, नेपालमा पूरातात्विक र ऐतिहासिक महत्व बोकेका अभिलेखको संरक्षणमा सरकार उदासिन बन्दा आउँदो पुस्ता अघिल्लो पुस्ताका बारेमा अध्ययन गर्ने अवसरबाट बञ्चित हुँदै छ ।

काठमाडौं तारकेश्वर नगरपालिका–७ मनमैजु फुटुङमा हालसालै अद्वितीय महत्व बोकेको करिब १६०० वर्ष पुरानो अभिलेख चकनाचुर पारियो । स्थानीय राजेन्द्र मास्केको घरमा पानी ट्यांकी बनाउने क्रममा जमिन खन्दा फेला परेको अभिलेख केही समय सुरक्षित थियो । तर, पछि नष्ट गर्ने कार्यमा संलग्नलाई हालसम्म कानूनको दायरामा ल्याएको छैन ।

२६ पंक्ति र तीन हरफ रहेको अभिलेखमा प्रौढ संस्कृत भाषाको लिच्छवी लिपी प्रयोग भएको छ । अभिलेख नष्ट गर्नुअघि खिचेको फोटोको आधारमा लिपीविज्ञ श्यामसुन्दर राजवंशीले लिपीयान्तर गरि भावार्थ समेत उत्तार्ने काम सम्पन्न गर्नुभएको छ । उहाँका अनुसार मृद्रांग्राम हालफुटुङ, ह्मस्प्रिङ्ग्राम हाल म्हेपीः र पञ्चग्रामका बासिन्दालाई दक्षिण राजकूल राजदरवारबाट महाराज महीदेव र बसन्तदेवले सर्वदण्ड नायक महाप्रतिहार रविगुप्त मार्फत राजआदेश दिएको उल्लेख अभिलेखमा छ । सो स्थानका बासिन्दालाई बसोवास योग्य बस्ति बसाल्न मुआव्जा दिई प्रशस्त भूमि खरिद गरेको, दरवारको सुरक्षाका लागि पर्खाल घेर्न, हात्ति घोडा आवतजावत गर्न मिल्ने बाटो बनाउन, युद्धको बेला द्धारपालहरुलाई सतर्क र सुरक्षा प्रवन्ध मिलाउन लगायतको राजआदेश दिएको उल्लेख अभिलेखमा भएको लिपीविज्ञ श्यामसुन्दर राजवंशीले बताउनुभयो ।

महिदेवको मृत्यु संवत् ४२७ मा भएकोे भनाई यस अभिलेखले गलत सावित गरेको भन्दै उहाँले महिदेवको नाम सहित संवत् ४३३ र ४३५ स्पष्ट रुपमा यस अभिलेखमा उल्लेख गरिएको छ । महाराज वसन्तदेवबाट शोल्ल लिंग्वल पश्चिमाधिकरणको अधिकार समेत रवीगुप्तलाई दिएको अभिलेखमा उल्लेख हुनुले त्यस बेलाको राजनैतिक, सामाजिक र आर्थिक अवस्थाबारे बुझन सकिने लिपीविज्ञ राजवंशीले भनाई छ ।

यसबाट हामीले एउटा पाठ पनि सिक्न सक्छौ मुआव्जा दिएर मात्र आम जनताको नीजि सम्पति राज्यले लिनुपर्छ भन्ने । अहिलेको लोकतान्त्रिक गणतन्त्रको युगमा अन्तरराष्ट्रिय कानून र नीजि सम्पतिको हक सम्बन्धि ठेलीका ठेली कानूनका किताब भएको अवस्थामा पनि बिना मुआव्जा नीजि सम्पति हड्प्न राज्यले यस अभिलेखको अध्ययन गरि मुआव्जार नीजि सम्पतिको बारे केही सिक्ने हो की ?

अभिलेखको भावार्थ यस्तो छ :

संवत् ४३३ प्रथम आषाढ शुल्क १२ को दिनमा यसमा बुवा भट्टारक महाराजको पाउको अनुग्रह पाएका भट्टारक महाराज श्री महीदेवबाट भएका घोषणाको आज्ञापालन गर्ने दक्षिणराजकूल(राजदरवार)का अधिनायक, सर्वदण्डनायक महाप्रतिहार रविगुप्त हुनुहुन्छ । यहाँ मृद्रांग्राम अन्तर्गत पञ्चग्राम तल र ह्मस्प्रिङ्ग्राम तलको लागि पहिले देखि चल्दै आएको व्यवहार चलनमा सामान्य तथ विशेष जे जस्तो काम कर्तव्यको जरुरत परेको हो हाम्रो पाउमा अधिनमा रही हाम्रा चरणकमलमा सेवक सर्वदण्ड नायक महाप्रतिहार रविगुप्तलाई आवश्यक अधिकार सुम्पिएको छ, उनले गर्ने सेवा प्रवाहमा अलिकति पनि कम नहुने गरी हाम्रो दूत बनेर त्यस ग्रामको व्यवस्था हेर्नुहुने छ । बसोवास योग्य बस्ति बसाल्न मुआब्जा दिई प्रशस्त भूमि खरिद गरियो र राजदरवार सुरक्षाका लागि पर्खाल घेर्ने र हात्ति घोडा आवतजावत गर्न मिल्ने बाटो घाटो बनाउन, युद्धको बेला द्धारपालहरु अत्यन्त सतर्क रहुन् भनी सुरक्षाको काम कर्तव्यमा फलदायी प्रवन्ध गरिएको छ । सबैले आफ्नो पदीय मर्यादामा रही काम कर्तव्य पालन गर्न मृदांग्रामका निवासीहरुलाई बुवाको पाउमा अनुग्रह पाएका महाराज श्री वसन्तदेवबाट शोल्ल लिंग्वल पश्चिमाधिकरणको अधिकार समेत सर्वदण्डनायक महाप्रतिहार रविगुप्तलाई सुम्पिएको व्यहोरा ज्ञात रहोस् भनी आज्ञा भएको छ । यसको यथोचित मर्यादा कायम रहने छ भनी हाम्रा दूत सर्वदण्ड नायक महाप्रतिहार रविगुप्त सेवामा तत्पर हुनुहुनेछ ।
इति सम्व्त ४३५ द्धितिय पौष शुक्ल (१२?) दिनमा ।