२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चार वटा प्रदेशको नेतृत्व पाएको एमाले अहिले कोशी प्रदेशमा खुम्चियो


273
Shares

काठमाडौं । संघीय सरकारको गठबन्धन फुट्ने र जुट्ने क्रियाकलापको प्रत्यक्ष असर प्रदेश सरकारलाई पर्दै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन भएको गठबन्धन सहित ४ वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले राष्ट्रपति निर्वाचनका लागि फुटेसँगै अहिले एक प्रदेशमा खुम्चिएको छ ।

संघीय सरकारको गठबन्धन परिवर्तन भएसँगै त्यसको असर कोशी प्रदेशवाहेक ६ वटा प्रदेशमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा गत पुस १० गते बनेको केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोसीबाहेक ६ वटा प्रदेशमा सरकार परिवर्तन भएको हो ।

एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनसँगै पुरानै गठबन्धनमा फर्किएपछि त्यसको असर संघीय सरकार र प्रदेश सरकार दुवैमा परेको हो । गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गरेसँगै चार प्रदेश सरकारको नेतृत्व गरेको एमाले अब एक प्रदेशमा सीमित बन्न पुगेको छ ।

निर्वाचन लगत्तै कर्णाली, बाग्मती र मधेस प्रदेशबाहेक अन्यमा एमाले नेतृत्वमा सरकार बनेको थियो । बदलिएको गठबन्धनसँगै एमालेले यसअघि नेतृत्व गरेका तीन वटा प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन भएका छन् ।

त्यस्तै, माओवादी नेतृत्वमा गठन भएका तीनवटा प्रदेश सरकारमा कांग्रेस सहभागी भएको छ । साढे ३ महिनामा एमाले नेतृत्वको सरकार ढलेपछि गण्डकीमा सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा डिल्लीबहादुर चौधरी नेतृत्वमा सरकार बनेका छन् । दुवै प्रदेशमा एमाले नेतृत्वमा गत पुस २७ गते सरकार बनेका थिए ।

सत्ता साझेदार माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि प्रदेशमा एमाले नेतृत्वका सरकार ढलेका हुन् । गण्डकीमा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । त्यस्तै, लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि प्रदेश सरकार ढलेको थियो ।

माघ २६ मा एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । यद्यपी सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । जसपा नेतृत्वको मधेस प्रदेश सरकारबाट एमाले बाहिरिए पनि सत्ता गठबन्धनका तीन दल कांग्रेस, नेकपा एस र लोसपा सरकारमा सहभागी भइसकेका छैनन् ।

मधेशमा माओवादी र जनमत पार्टी भने सुरुदेखि नै सरकारमा छन् । तर सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । माओवादी नेतृत्वको सरकार रहेको बागमती प्रदेशका पाँच मन्त्रालय नेतृत्वविहीन छन् । माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । त्यसपछि कर्णाली सरकारमा कांग्रेस सहभागी भएको छ । कोशी प्रदेशमा भने राप्रपाको सहयोगमा एमाले नेतृत्वको सरकार कायमै छ । सत्ता गठबन्धनमा रहेका दलहरू राप्रपालाई मनाएर त्यहाँको सरकार परिवर्तन गर्ने कसरतमा जुटे पनि सफल हुन सकेका छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वविवेकमा एक नम्बर प्रदेशको राजनीतिक समीकरणको आयु तोकिने छ । राप्रपाले अन्यथा निर्णय लिएको अवस्थामा एमालेले प्रदेशबाट पूर्ण रुपमा हात धुनु पर्ने छ ।