१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा स्वास्थ्य शिविर सम्पन्न, महिलामा पाठेघरकाे समस्या बढी


26
Shares

म्याग्दी । म्याग्दीका ६ वटै स्थानीय तहहरुमा महिलाको स्तन तथा पाठेघर सम्बन्धि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सम्पन्न भएका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समिति र सोही अन्तर्गतको महिला विभागको आयोजनामा स्तन तथा पाठेघर सम्बन्धि शिविर भएका हुन् । जिल्लाका ६ वटै स्थानीय तहहरुमा सम्पन्न शिविरबाट ३ हजार भन्दा बढी स्तन तथा पाठेघरमा समस्या भएका महिलाहरु लाभान्वित भएका छन् ।

धवलागिरी गाउँपालिकाको मुना, मालिका गाउँपालिकाको दरवाङ, मंगला गाउँपालिकाको बाबियाचौर, बेनी नगरपालिकाको ज्यामरुककोट, अन्नपूर्ण गाउँपालिकाको पोखरेवगर र रघुगंगा गाउँपालिकाको राखुमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । काठमाडौं क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा पाठेघर तथा स्तनमा क्यान्सरका लक्षण देखिएका, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि काठमाडाैं र भरतपुर (चितवन) का अस्पतालमा रिफर गरिएको छ ।

स्वास्थ्य शिविरमा काठमाडौं क्यान्सर सेन्टर भक्तपुरका क्यान्सर रोग विशेषज्ञ डा. किशोरकुमार प्रधानाङ्गकाे नेतृत्वमा ४ जनाको टोली खटिएको छ । डा. प्रधानाङ्गले म्याग्दीको ग्रामीण क्षेत्रमा पाठेघरको समस्या भएका महिला धेरै भेटिएका बताउनुभयो । जनचेतनाको अभावका कारण पाठेघरमा समस्या देखिएका महिलाहरु भेटिएको बताउँदै उहाँले स्वास्थ्य शिविरमा आएर उपचार गर्न समेत अनुरोध गर्नुभएको छ ।

पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेकाले यो शिविर म्याग्दीका ५ वटै गाउँपालिका र बेनी नगरपालिकामा आयोजना गरिएको मोना आइईसीका अध्यक्ष अम्मर छन्त्यालले बताउनुभयो ।