१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बसाइँसराईका कारण गाउँघरमा ताला…


221
Shares

अर्घाखाँची । अर्घाखाँचीमा शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीका कारण बसाइँसराई हुने क्रम बढेको छ ।

बसाइँसराईले गर्दा गाउँका घरहरुमा ताला लागेको छ भने खेतीयोग्य जमिन बाँझो हुँदै गएको हाे । पछिल्लो ५ वर्षमा जिल्लाका ६ वटा स्थानीय तहमध्ये ३ नगरपालिका र ३ गाउँपालिकाले अधिकांश बजेट सडक संजालमा लगाएको छ ।

अर्घाखाँचीमा पछिल्लो १० वर्षमा २० हजार ५ सय ४६ ले जनसंख्या घटेको छ। जनसंख्या घट्नुको मुख्य कारण बढ्दो बसाइँसराई र कम जन्मदरलाई मानिएको छ। स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा गएका युवाहरूले भित्राएको रेमिट्यान्सले यति बेला पहाड छाडेर तराई झर्नेको लर्को बढ्दो छ।

पुरानो पुस्ताले दैनिकी चलाउने गरेको खेतबारी हिजो आज बाँझो जमिनमा रुपान्तरण भएका छन् भने घरहरुमा बसाइँसराईले ताला लागेका छन् । अर्घाखाँची टोलटोलमा सडक संजाल जोडिने जिल्लाको रुपमा चिनिए पनि अव्यवस्थित शिक्षा, स्वास्थ्य र रोजगारीले नै बसाइँसराईको दर बढेको शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताउनुभयो।

अर्घाखाँचीमा जन्मदरमा पनि कमी देखिएको छ । यहाँ अधिकांशले दुई सन्तान मात्र जन्माउने गरेको पाइन्छ । यसले पनि जन्मदर घटेको हो । २०६८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । २०७९ मा घटेर १ लाख ७७ हजार ८६ रहेको छ ।

गाउँमा जंगली जनावरको आतंकले पनि कृषक चिन्तित भएका छन् । खेतबारीमा लगाएको तरकारी तथा अन्नबाली जंगली जनावरले खान थालेपछि मेहेनत खेर गएकाले पनि बसाइँसराईको बाटो रोज्नु एउटा कारण भएको पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताउनुभयो । शिक्षामा आमूल परिवर्तन गर्नु पर्ने र वन्यजन्तुकाे नियन्त्रण गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।

पछिल्लो ५ वर्षमा जिल्लाका ६ वटा स्थानीय तहमध्ये ३ नगरपालिका र ३ गाउँपालिकाले अधिकांश बजेट सडक संजालमा लगाएको पाइन्छ । जबसम्म स्वास्थ्य, शिक्षा, रोजगार र उत्पादनमुखी कृषि कार्यक्रमहरु लागू हुँदैनन् । तबसम्म बसाइँसराई रोक्न सकिंदैन ।