
तेह्रथुम । तेह्रथुमको चिस्यानी देवी गुफा संरक्षणको पर्खाईमा रहेकाे छ ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको साेही ठाउँ उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हाे। यहाँ उधौली, उभौली र चण्डी पूर्णिमाका साथै अन्य विभिन्न अवसरमा भक्तजनहरु पूजापाठ गर्न आउने गरेका छन् ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–५ मा रहेको ऐतिहासिक चिस्यानी देवी गुफा संरक्षणको पर्खाइमा रहेकाे छ । बस्तीकोबीचमा अवस्थित गुफाको धार्मिक महत्व प्रचारमा ल्याउन र उचित प्रवर्द्धन गर्न नसक्दा ओझेलमा परेको हो ।
देवी थान समेत रहेको यो ठाउँमा यहाँका समुदायले विशेष पूजा आजा गर्ने गरेका छन् । ऐतिहासिक धार्मिक महत्व बोकेको यस ठाउँमा रहेको पानीको मूलमा १२ महिना नै चिसो भइरहन्छ । यहाँको पानीको तौल समेत अन्य क्षेत्रको भन्दा बढी हुने भएकाले यस गुफाको नाम चिस्यानी देवी रहन गएको हो । यो गुफाको छुट्टै ऐतिहासिकता रहेको स्थानीय टिआर सेनेहाङले बताउनुभयो ।
यस ठाउँमा उधौली, उभौली र चण्डी पूर्णिमाका साथै अन्य विभिन्न अवसरमा भक्तजनहरु पूजापाठ गर्न आउने गरेका छन् । किंवदन्ती अनुसार परापूर्वकालमा यो गुफामा मध्यरात र मध्यदिनमा नौमती बाजा बज्ने गर्दथ्याे । यस स्थानमा पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रहेको छ । साथै यस क्षेत्रलाई संरक्षण तथा प्रवर्द्धन गर्न सकेमा पर्यटकीय गन्तव्य बन्ने स्थानीय झमक खापुङको भनाइ छ ।
प्राकृतिक रुपले निर्माण भएको यो गुफाको लम्बाई करिब १५ मिटर रहेकाे छ । गुफाकोभित्री भागमा पोखरी रहेको छ । पोखरीमा विभिन्न रङ्गका माछा समेत रहेका छन् । पर्यटनको प्रचुर सम्भावना बोकेको यस गुफाको पूर्वाधार व्यवस्थापन गर्ने म्याङलुङ नगरपालिका–५ का वडाध्यक्ष राजकुमार सेनेहाङले बताउनुभयो ।
प्राकृतिक विविधतासँगै आर्थिक, सामाजिक, साँस्कृतिक, जातजाती र भाषिक विविधता नेपालको विशिष्ट पहिचान हो । यस्तो क्षेत्रको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार हुन सकेको खण्डमा जिल्लाकाे पर्यटन क्षेत्रमा समेत टेवा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्