
इलाम । इलामको सन्दकपुर गाउँपालिकामा खानेपानीको समस्या भएकाे छ ।
माइ नदीको मुहान क्षेत्र सन्दकपुरमा खानेपानीको समस्या भएकाे हाे । धेरै पर्यटकहरु आउने गरेको यस ठाउँमा खानेपानीकाे समस्या समाधानका लागि होटल व्यवसायीले गाडीमा पानी ढुवानी गर्नुपर्ने बाध्यता रहेकाे छ ।
३६ सय ३६ मिटर उचाईमा रहेको सन्दकपुर इलामको शिर हो । पर्यटकहरुको आकर्षणको केन्द्र बनेको सन्दकपुरमा खानेपानीको समस्या भएकाे छ । बस्तीमुनि माई नदीको मुहान क्षेत्र भएकाले यहाँ बसोबास गर्नेहरुका लागि गाडीमा पानी बोक्नुपर्ने बाध्यता रहेकाे छ ।
वर्षायाममा पानी ढुवानीका लागि कच्ची सडक बाधक छ भने हिउँदामा पानीको मुहान नै जमेर बरफ बन्छ । जसले गर्दा स्थानीयले हिउँदामा हरेक दिन बरफ पग्लेपछि पानी संकलन गर्नुपर्छ ।
सन्दकपुर–२ मा अवस्थित सन्दकपुरमा नेपाल र भारत दुवैपट्टी होटलहरु रहेका छन् । होटल व्यवसायीले पिकअपमा प्लाष्टिकको ट्यांकीबाट पानी ढुवानी गर्दै आएका छन् । पिकअपमा दुई वटा प्लाष्टिकको ट्यांकीबाट पानी ढुवानी गरेको प्रत्येक ट्रिपको ८ सय रुपैयाँ लाग्छ ।
यता, होटल व्यवसायीको सुविधाका लागि काेशी प्रदेश सरकारबाट खानेपानीको सहज सुविधा उपलब्ध गराउन खानेपानी आयोजनाको काम भइरहेको सन्दकपुर–२ का वडाध्यक्ष सनम राईले बताउनुभयो ।
काेशी प्रदेश सरकारबाट सन्दकपुरमा खानेपानी पुर्याउन लिफ्टिङ प्रविधिबाट आयोजना संचालनका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । नेपाल, भारत, भुटान र चीनको तिब्बतका ६० भन्दा बढी हिमश्रृंखला दृश्यावलोकन गर्न सकिने सन्दकपुरमा विश्वका धेरै पर्यटकहरु पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्