१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तीन सातादेखि ५ वर्षीय छोरासहित निर्मला बेपत्ता


8.528k
Shares

काठमाडौं । ललितपुरकाे इमाडोलमा बस्दै आएकी ४० वर्षीय निर्मला सुवेदी ५ वर्षीय छोरा चेन्ज सुवेदीसहित बेपत्ता भएकी छन् ।

निरा पाण्डे आचार्यको निर्मम हत्याको खबर सेलाउन नपाउँदै ३ सातादेखि निर्मला छोरासहित बेपत्ता भएकी हुन् । उनको खोजीमा प्रहरी प्रशासन, सामाजिक सञ्जाल र आफन्त सक्रिय रहेपनि हालसम्म पत्ता लाग्न सकेको छैन ।

ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ इमाडोलमा पति चेतमणि सुवेदीसँग बस्दै आएकी निर्मला बेपत्ता भएकी हुन् । इमाडोल टेम्पोपार्क नजिकै आफैंले सञ्चालन गर्दै आइरहेको हजुरको किराना घर नामको मिनिमार्टमा दिनभर काम गरेकी निर्मला साेही दिन साँझदेखि सम्पर्क विहीन भएकी हुन् । यद्यपि घरै छोडेर जानुपर्ने अवस्थाको मतभेद नरहेको पति चेतमणीको भनाइ छ ।

सम्पर्क विहीन भएकै दिन निर्मला कोरिया बस्दा निकटतम रहेकी बस्नेत थरकी महिलाको घरमा गएर बास बसेकी थिइन । उनले त्यहाँ आफू प्रहरीको निगरानीमा रहेको र एक दुई दिन भक्तपुर दिदीको घरमा बसेर माइतीघर इलाम जाने बताएकी थिइन ।

५ वर्ष कोरिया बसेर फर्किएपछि घरजम गरेकी निर्मला छोरासहित बेपत्ता भएपछि परिवार अप्ठ्यारो अवस्थामा पुगेको छ । माइतीतिरकाले पति चेतमणीतर्फ औंलो उठाएका छन् । प्रहरीले खोजी कार्य त अघि बढाएको छ । तर पनि कुनै निक्र्योलमा पुग्न सकेको छैन ।

वास्तविकता बुझ्न हामीले निर्मलाकी दिदी बिमला ढकालसँग सम्पर्क गर्दा सञ्चार माध्यममा बोल्न नचाहेको बताइन । परिवारका सदस्य दिनरात प्रहरीमा धाइरहेका छन् । निर्मललाले फोन नबोकेका कारण खोजीमा थप समस्या परेको छ । निर्मलाको खोजीमा कुनै कसुर बाँकी नराखेको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रवीण पाेखरेले बताउनुभयाे । प्रहरी विभिन्न कोणबाट अनुसन्धान गरिरहेको पनि उहाँकाे दावी छ ।

आफ्नो पत्नी र छोरा सम्पर्क विहीन भएकाले तनाव भइरहेको समयमा माइती पक्षको दवावले आफू थप तनावमा परेको चेतमणिको गुनासो छ। इलामको देउमाई नगरपालिका–६ स्थायी घर र इलामकै माइजोगमाई–६ माइत भएकी निर्मलाको सीमित साथी र केही आफन्त बाहेक धेरैसँग सम्पर्क नभएको प्रहरी अनुसन्धानले बताउँछ ।

बेपत्ताको खोजीका लागि परिवारले नेपाल प्रहरी वृत्त सातदोबाटो र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पनि निवेदन दिइसकेको छ। सीआईबीले पनि तदारुकताका साथ सम्भावित ठाउँमा खोजी अभियान थालिएको जनाएको छ ।अबोध सन्तानसहित एकपछि अर्को बेपत्ता हुने प्रवृत्तिले भने समाजमा नकारात्मक सन्देश प्रवाहित गरेको छ ।