२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पाल्पामा विद्यार्थीलाई विद्यालयमै उपचार


676
Shares

पाल्पा । पाल्पाको एक विद्यालयका बालबालिकाले विद्यालयमै स्वास्थ उपचार सेवा पाउन थालेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको भैरव नवदिप माध्यमिक विद्यालयमा विद्यार्थीहरुले विद्यालयमै स्वास्थ उपचार सेवा पाउन थालेपछि विद्यालयको पठनपाठन नियमित बनेको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ४ को भैरव नवदीप माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमै उपचार सेवा पाउँदै आएका छन । २०७९ सालको भदौ महिनादेखि उनीहरुले विद्यालयमै उपचार सेवा पाउँदै आएका हुन् ।

विद्यालयमा स्वास्थयकर्मीबाट नै नियमित रुपमा चेकजाँच र औषधी पाएपछि विद्यार्थीहरु ढुक्कसँग विद्यालय आउने गरेका छन् । गाउँपालिकाले पहिलो चरणमा भैरव नवदीप माध्यमिक विद्यालयमा नर्सिङ कार्यक्रम लागु गरेको हो ।

विद्यालयमा नर्स कर्मचारी भर्ना भएपछि विद्यालयका विद्यार्थीदेखि शिक्षकसम्म लाभान्वित भएका छन् । बिरामी भएका विद्यार्थीहरुलाई नर्स शिर्षा कार्कीले उपचार गर्दै आउनु भएको छ । रुघा, खोकी, ज्वरो, टाउको दुख्ने, शरिर दुख्ने, घाउखटिरा, चोटपटकका उपचार सेवा विद्यार्थीले विद्यालयकै नर्सबाट पाउने गरेका छन् ।

यसअघि रेडक्रसबाट सामान्य घाउ चोट लागेमा उपचार गर्ने व्यबस्था रहेपनि अहिले गाउँपालिकाको सहयोगमा संचालन भएको विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालय नर्स उपचार कार्यक्रमबाट अहिलेसम्म ५ सय ५० भन्दा बढी विद्यार्थीहरुले उपचार सेवा पाएका छन् ।

विद्यालय नर्स कार्यक्रमबाट विद्यार्थीहरु नियमित विद्यालय आउने गरेको र जटिल स्वास्थ्य समस्या देखिए विद्यालयले स्तरीय स्वास्थ्य संस्थामा रिफर गर्दै आएको विद्यालयका प्रधानाध्यापक झलक बहादुर रायमाझीले बताउनु भयो ।

रैनादेवी छहरा गाउँपालिकाले नमूनाको रुपमा लागु गरेको विद्यालय नर्स कार्यक्रम प्रभावकारी बनाउँदै लैजाने र आउँदो पाँच वर्षभित्र पालिकाका सबै माध्यमिक विद्यालयमा पुर्‍याउने पालिकाको अध्यक्ष रुक्मांगत भट्टराई जनाएका छन् ।

स्थानीय सरकारबाट अधिकांश रकम भौतिक पुर्वाधारमा मात्र खर्चिएको समयमा रैनादेवी छहरा गाउँपालिका पाल्पाले विद्यालयको स्वास्थ्य क्षेत्रमा लगानी सुरु गरेको छ ।

यो कार्यक्रमले विद्यालयको स्वास्थ्य तथा शिक्षामा सुधार आउनुका साथै बालबालिकाको कक्षा छोड्ने समस्या पनि समााधान हुने देखिन्छ ।