
कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लाई सरकारमा ल्याउँदा राम्रो हुने बताउनु भएको छ ।
कैलालीमा बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई सरकारमा ल्याउँदा के हुन्छ भनेर आफूसँग राय लिएको र रास्वपालाई ल्याउँदा राम्रो हुने आफूले सुझाव दिएको बताउनुभयो ।
नेपालले मन्त्रालय कसलाई कति दिने भन्नेबारे पनि उपचुनाव अघि नै टुंगो भइसकेका कारण सरकारमा ल्याउन समस्या नभएको बताउनु भयो । रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्केपनि नागरिकता र राहदानीको दुरुपयोग विषयमा प्रभाव पार्न नमिल्ने उहाको तर्क छ ।
नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताउनु भयो । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै उहाँले रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताउनु भयो ।
मुलुक आर्थिक संकटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उहाको तर्क छ । यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उहाँले बताउनु भयो ।
अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक संकटबारे गठबन्धनमा आवद्ध दलहरु गम्भीर भएको दाबीसमेत गर्नु भयो । अर्काे एक प्रसंगमा उहाले नेपालले पूराना राजनीतिक दल सच्चिनु पर्ने बताउनु भयो । नयाँ दलले पनि फुरुङ्ग भइहाल्न नहुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्