१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीका युवा भैंसी पालनतर्फ आकर्षित


299
Shares

म्याग्दी । पछिल्लाे समय आफ्नै गाउँ-ठाउँमा कमाई गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाहरुको भीड नै छ ।

तर म्याग्दीका एक जना युवाले भने गर्न सक्नेमा नेपालमा नै विदेशमा भन्दा बढी कमाउन सकिन्छ भन्ने कुराकाे प्रमाणित गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल ४ वर्ष युएईमा काम गरेर फर्किनुभएकाे थियाे ।

उहाँ फर्किएपछि पुन विदेश नजाने प्रण गर्दै गाउँमै गरेको भैंसी पालनबाट मनग्गे आम्दानी गर्न सफल हुनुभएको हो । उपल्लो दरवाङको केवि एकेडेमी नजिकै २०७७ सालदेखि भैंसी पालन गर्नुभएका पौडेलले ६ वटा भैंसीबाट दैनिक ४० लिटर दूध दरवाङ बजारमा बिक्री गर्दै आउनुभएको छ।

प्रतिलिटर १ सय २० रुपैयाँका दरले दूध बिक्री गर्दा पौडेलले दैनिक ४ हजार ८ सय रुपैयाँ कमाई गर्नुहुन्छ । दूध बिक्रीबाट मासिक १ लाख ४४ हजार कमाई गर्ने पौडेलले सबै खर्च कटाएर मासिक ८ं० हजार रूपैयाँ भन्दा बढी बचत गर्ने गर्नुभएको छ । २०७७ सालमा १२ लाखको लगानीबाट भैंसी पालन सुरु गर्नुभएका पौडेलले अहिले लगानी बढाएर २० लाख जति खर्च भएको बताउनुभयो ।

भैंसी पालनसँगै बाख्रा पालन र तरकारी खेती समेत गर्नुभएका पौडेलको मासिक १ लाख रूपैयाँ भन्दा बढी आम्दानी हुन्छ । क्रस जातका बाख्रा पालन पनि उहाँले गर्नुभएको छ । त्यस्तै, पाङ्गारिक मलबाट तरकारी खेती समेत गर्नुभएका पौडेल आफ्नो काम र कमाई दुवैबाट सन्तुष्ट भएकाे बताउनुहुन्छ ।