२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीमा कालो बजारी र महँगी बढ्याे


351
Shares

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी लगायतका स्थानीय बजारहरुमा कालो बजारी र महँगी बढेर गएको छ ।

सम्बन्धित निकायले समय-समयमा बजार अनुगमन र नियमन नगर्दा याे समस्या उत्पन्न भएकाे हाे । केही समय यता सिन्धुलीमाडी बाहिरका बजारहरुमा सरकारी निकायमा दर्ताविना नै व्यवसाय र पसलहरु संचालन भइरहेका छन् । व्यवसायीहरुले मनोमानी ढंगले मूल्य निर्धारण गर्ने गरेको स्थानीयहरुले गुनासो गर्ने गरेका छन् ।

व्यवसायीहरुले दर्ताविना नै व्यापार व्यवसायहरु सञ्चालन गर्न थालेका कारण सरकारी राजस्व समेत गुम्दै गएको छ। सिन्धुलीका बजारमा ब्यापारीहरुले खाद्यान्न तरकारी तथा घरायसी प्रयोगका सामाग्रीहरुको मनोमानी मूल्य लिने गरेको उपभोक्ताहरुको गुनासो छ । अहिले व्यवसायीहरुले तोकिएको मूल्य भन्दा आफ्नै मनोमानी मूल्यमा सामान बिक्री वितरण गर्ने गरेका छन् ।

सरकारी सम्बन्धित निकायले बजार अनुगमन नगर्दा जिल्लाको माढीबजार लगायतका विभिन्न क्षेत्रहरु दूधौली, खुर्कोट, चकमके, डकाहा र मरिण लगायतका स्थानहरुमा उपभोक्ताहरु ठगिरहेका छन् । बिक्री वितरण गरिएका खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्रीहरुको गुणस्तर जाँच तथा अनुगमन हुने गरेको छैन ।

जिल्लाका स्थित बजार अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ र उपभोक्ता हकहित संरक्षण मञ्च रहेको बजार अनुगमन टोली रहेको भएपनि सोही कार्य कामकाजी हुन सकेको छैन ।

बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्रीको मूल्य चर्को रहेको छ । निर्माण सामग्रीको खपत हुने मुख्य सिजनमै निर्माण सामग्रीको अत्यधिक मूल्य बढेको छ । विशेषगरी जाडो मौसममा विकास निर्माण तथा घर निर्माण कार्य अत्याधिक हुने गर्दछ । तर बजारमा भने आवश्यक निर्माण सामग्रीको मूल्य बढेको छ ।

निर्माण कार्यको मुख्य सिजन मानिने जाडो मौसममा बजारमा निर्माणका लागि आवश्यक सिमेन्ट र डण्डी लगायतका वस्तुमा मूल्य वृद्धि भएको हो । जसकाे प्रत्यक्ष असर आमउपभोक्ता र निर्माण व्यवसायीलाई परेको छ ।