२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगाका किसान किवी खेतीप्रति आकर्षित


104
Shares

ओखलढुंगा । ओखलढुंगाका किसान पछिल्लो समय किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

फलफूल बालीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन्। जिल्लामा निर्वाहमुखी खाद्यबाली त्यागेर व्यवसायिक रुपमै किवी खेती गर्ने किसानको संख्या बढ्न थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा किवी खेती ८० रोपनी क्षेत्रमा विस्तार भइसकेको छ ।

ज्ञान केन्द्रले किवी खेती विस्तारका लागि विगत ४ आर्थिक वर्षदेखि किवी खेती प्रवर्द्धन कार्यक्रम समेत सञ्चालन गरेकाे छ । जसका कारण किवी खेतीमा लाग्ने किसानलाई प्रोत्साहन मिलेको छ । जिल्लामा ४ मेट्रिक टन किवी उत्पादन हुने गरेको ज्ञान केन्द्रको तथ्यांक छ ।

अन्य बाली भन्दा फलफूल बाली राम्रो उत्पादन हुने भएको र मूल्य पनि राम्रो पाउने भएकाले किसानको जीविकोपार्जनमा समेत किवीले टेवा पुर्याउन थालेको कृषि ज्ञान केन्द्र ओखलढुगाका कृषि अर्थ विज्ञ गणेश अधिकारी खत्री बताउनुभयाे ।

परम्परागत खाद्यबालीबाट ५ हजार पनि आम्दानी नहुने ठाउँमा अहिले किवी खेतीमा लागेका जिल्लाका किसानले ५० हजार रूपैयाँ कमाउन थालेका छन् । अन्य बालीको तुलनामा किवी खेतीबाट उत्पादन समेत बढी लिन सकिने किसानहरुको अनुभव छ ।