
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा हेरक दिनजसो नयाँ अनुहार मुछिदै गएका छन् । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले ८ जनालाई लिएर अनुसन्धान गरिहेको छ भने न्याय पाउन १ सय ६ जनाले २० वटा उजुरी दिएका छन् । बजेट अधिवेशन भनिएपनि एकपछि अर्का हाइप्रोफाइल तानिएपछि संसदका लागि यो विषय हटकेक बनेको हो ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह अर्धनग्न रुपमा प्रस्तुत हुनुभएयो । बैठकमा आकस्मिक समय मागेका सिंहले समय नपाएपछि विरोध स्वरुप सर्ट र गञ्जी खोल्नुभयो । सभामुखको चेतावनीपछि सिंहले कपडा लगाएर बस्नुभयो । उहाँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा बोल्न खोजेको र समय नपाएको गुनासो गर्नुभएको छ ।
बैठकमा कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भुटानी शरणार्थी प्रकरणको छानविन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने माग राख्नुभएको छ । प्रतिनिधि सभाको शून्य समयमा सांसद केसीले शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री समेत मुछिएको विषय सार्वजनिक भइसकेकोले निष्पक्ष छानविनका लागि आयोग बनाउन माग गर्नुभयो ।
सांसद रवि लामिछानेले मिलेमतोमा एक अर्कालाई बचाउने काम नगर्न चेतावनी दिनुभयो । त्यस्तै, सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा पनि नक्कली भुटानी शरणार्थीको विषयले प्रवेश पायो । बैठकमा नेकपा एमाललेले आईतबारको बैठकमा राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन भन्दै नियमापत्ति जनाएको छ । रायमाझीले बैठकमा एमाले पार्टी अध्यक्ष केपी ओलीले सचिव टोपबहादुर रायमाझीलाई झडकेलो छोरो भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
यसअघि आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि नक्कली भुटानी शरणार्थीको प्रकरणको विषयमा सांसदहरु आरोप प्रत्यारोपममा उत्रिए । बैठकमा केही सांसदहरुले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका लैजाने भन्दै ठगी गर्ने गिरोहमाथिको छानविनलाई प्रभावकारी बनाउन माग गरे ।
एमाले सांसदहरुले नक्कली भुटानी शरणार्थी मात्र नभएर विगतमा भएका सबै भ्रष्टाचारका विषयलाई छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै प्रतिवाद गरे । वाइडबडी घोटाला काण्ड, बाँसबारी जग्गा घोटाला, बालमन्दिर जग्गा, मातातीर्थ जग्गा, यती, ओम्नी, लडाकु शिविरका घोटाल, सीसीटीभी फुटेज र बजेटमा बिचौलिया ल्याइएका काण्डहरूमाथि छानविन गर्न एमाले सांसदले माग गरे ।
त्यस्तै, प्रधानमन्त्रीले नै पूर्वाग्रह राखेर सत्ता पक्षकालाई उन्मुक्ति दिने र कसैसँग पूर्वाग्रह साँध्ने मनसाय प्रकट भएको एमालेकै सचेतक महेश बर्तौलाले आरोप लगाउनुभयो । त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकारणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका एमालेका सांसद टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याउन कांग्रेस र माओवादीका सांसदहरुले माग गरे ।
त्यस्तै, नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडीएको भन्दै कांग्रेस सांसद आरजु राणा देउवा र रामहरी खतिवडाले आपत्ती जनाउनुभयो । सांसद सुनील शर्माले पक्राउ परेकाहरूलाई सरकारी वकिलका अगाडि बयान फेर्न दबाब दिइएको बताउनुभयो । त्यस्तै, कांग्रेसकी सरिता प्रसाईं र जसपाकी रन्जुकुमारी झाले भ्रष्टाचारका विषयमा पक्ष र विपक्षमा बोल्न नहुने भन्दै सांसदहरूनै मानव तस्करमा लाग्नु दुखद भएको गुनासो गर्नुभयो ।
यो विषयले एकातिर मुलुकमा भ्रष्टाचारको जालो कति सशक्त छ भन्ने देखाउँछ भने अर्कातिर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कुटनीतिक मर्यादामा समेत आघात पुग्ने प्रष्ट छ ।
प्रतिक्रिया दिनुहोस्