
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले नगरबाट श्रम स्वीकृति दिन सुरु गरेको छ ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह हुने व्यवस्था भएकाे थियाे । त्यससँगै नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको हो । वालिङ नगरका प्रमुख कृष्ण खाँणले वालिङ-१३ का सुरज श्रेष्ठ पुनः श्रम स्वीकृति प्रदान गरी सेवाको शुभारम्भ गर्नुभएको हो ।
वैदेशिक रोजगारीमा साउदी अरब जान लागेका श्रेष्ठलाई पालिकाबाटै पहिलो श्रम स्वीकृति सेवा प्रदान गरिएको रोजगार संयोजक पवन बस्यालले जानकारी दिनुभयो । यस अघि श्रम स्वीकृति लिनको लागि वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो । तर श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरूवात भए पश्चात स्थानीय तहबाटै यहि वैशाख १ गतेदेखि उक्त सुविधा प्रादान गरिएकाे हाे।
श्रम स्वीकृति लिनको लागि राहदानी, एकप्रति पासपोर्ट साइज फोटो, पारिवारिक विवरण , बैंक खाता (चेक प्रतिसहित), व्यक्तिगत इमेल आइडी र सम्पर्क मोबाइल नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र, भिजाको प्रतिलिपिसहित स्थानीय तहको रोजगार सेवा केन्द्र नि:शुल्क अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक बस्यालले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकम बापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृति प्रक्रिया अगाडि बढ्ने र श्रम स्वीकृति पत्र अनलाइनबाटै प्राप्त हुन्छ । आवेदन स्वीकृत भएको वा आवश्यक विवरणहरू अपुग भएको जानकारी पनि अनलाइन मार्फत नै सम्बन्धित सेवाग्राहीले प्राप्त गर्न सक्छ्न् ।
श्रम स्वीकृति सम्बन्धमा थप जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रबाट पनि लिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्