
सिन्धुली । स्वास्थ्य सेवाको पहुचबाट वंचित भएका सिन्धुली जिल्लाको कमलाखोचमा क्षेत्रमा स्वास्थ्य उपचार शिविर संचालन गरिएपछि १ हजार १ सयले सहज रुपमा स्वास्थ्य उपचार पाएका छन् ।
सिन्धुली जिल्लाको दुधौंली नगरपालिका वडा नं ४,केएमसी अस्पताल काठमाण्डौं र नोवेल अस्पताल विराटनगरको संयुक्त आयोजनामा संचालन गरिएको एक दिवसीय सो शिवरमा मुटुरोग,स्त्रीरोग,नाक,कान,घाटी,बालरोग, छालारोग,दन्तरोग,आँखा,पेट,हाड जोर्नी, लगायत मानव शरीरमा लाग्ने सबै रोगको निःशुल्क परीक्षण र औषधी उपचार गरिएको शिविरमा सलग्न चिकित्सक सम्पन्न बुढाथोकीले जानकारी दिनुभयो ।

ग्रामिण क्षेत्रमा बसोवास गर्ने सर्वसाधरणहरुले आर्थिक अभावको कारणले स्वास्थ्य परीक्षण र उपचार गर्न नपाएको अवस्थामा स्वास्थ्य उपचार शिविरले स्थानीयलाई सुविधा पुगेको सो शिविरका व्यवस्थापक तथा संविधान सभासदस्य मोहन वरालले बताउनु भयो ।
स्वास्थ्य उपचार शिविरमा उपचार हुन नसक्ने अवस्थाका कुल ९५ जना विभिन्न रोगका विमारीहरुलाई निःशुल्क रुपमा थप उपचारकालागि काठमाडौंस्थित स्थित केएमसी अस्पतालमा पुर्याइने जनाईएको छ ।

सिन्धुली जिल्लाका विभिन्न स्थानीय तहका ग्रामिण बस्तीमा कष्टकर रुपमा बसोवास गर्ने सयौं सर्वसाधरणहरु आर्थिक अभावका कारणले विभिन्न रोगबाट पीडत बनिरहेकाले निःशुल्क स्वास्थ्य शिविर जिल्लाका विभिन्न क्षेत्रमा समेत संचालन गरिने सहजकर्ता सुजन थापाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्