२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पाल्पाको निर्माणाधीन सांस्कृतिक डबलीको बेवारिसे


1.287k
Shares

पाल्पा । लुम्बिनी प्रदेश सरकारको लगानीमा पाल्पाको तानसेनमा बन्दै गरेको सांस्कृतिक डबली बेवारिसे बनेको छ । अनुगमन तथा नियमन गर्ने निकाय नै नभएपछि निर्माणधिन डबली बेवारिसे बनेको हो ।

पाल्पामा दुुई वर्षअघि निर्माण कार्य पुरा गरिसक्नुु पर्ने सांस्कृतिक डबली अहिलेसम्म पुरा नभएपछि सरकारको करोडौंको लगानी खेर गइरहेको छ । तत्कालीन सरकारले नुवाकोट, मकवानपुर र पाल्पामा साँस्कृतिक डबली भवन निर्माण गर्ने गरी काम अगाडि बढाएको थियो ।

लुम्बिनी प्रदेश सरकारले एक जिल्ला एक गन्तव्यको कार्यक्रम अनुरुप पर्यटक प्रवद्र्धनका लागि सांस्कृतिक डबली भवन निर्माण गरेको हो । डबली भवन निर्माणका लागि झण्डै ८ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

तानसेनको पर्यटन विकासमा थप टेवा पुर्‍याउने उद्देश्यले विनियोजन रकममध्ये २०७८ सालको असार ७ गते निर्माण कार्य पुरा गर्ने गरी २०७६ सालको असार १५ मा ६ करोड, ७२ लाख, ५६ हजार रुपैयाँको लागतमा प्रतिष्ठा कन्ट्रसन प्रा.लि काठमाडौंले निर्माणको जिम्मेवारी पाएको थियो । प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण कार्यको थालनी भए पनि अनुगमन तथा नियमन गर्ने निकाय नभएका कारण न त निर्माण कार्य पुरा भएको छ न त संरचना नै संरक्षण भएको छ । पछिल्लो समयमा प्रदेश सरकारले मन्त्रालय विभाजन गरेसँगै अनुगमन तथा नियमन गर्ने निकाय नै निस्क्रिय भएको स्थानीयको आरोप छ । अनुगमन तथा नियमन गर्ने निकाय नै निस्क्रिय भएको स्थानीय अशोक थापा बताउनुभयो ।

मन्त्रालय विभाजन हुनु पहिले जिल्लामा डिभिजन वन कार्यालयले रेखदेख गरेपनि निर्माण कार्य ६० प्रतिशत पुरा हुन नपाउँदै डिभिजन वन कार्यालयबाट पर्यटन डिभिजन भैरहवालाई अनुगमनको जिम्मेवारी दिएपछि अहिले वेवारिसे बनेको हो । करिब पाँच सय दर्शक अट्ने क्षमता भएको डबलीको निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउन सके पाल्पाको पर्यटकीय विकासमा थप सघाउ पुग्ने तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख अशोक कुमार शाही बताउनुहुन्छ ।

प्रदेश सरकारको राजनैतिक खिँचातानीले गर्दा निर्माण कम्पनीले डवली निर्माणको काम पुरा गर्न सकेको छैन् । निर्मित संरचनाहरु एकपछि अर्को गर्दै जीर्ण बन्दै छन् । सम्बन्धित निकायको यसतर्फ ध्यान पुगे स्थानीय कलासंस्कृतिको संरक्षणमा टेवा पुग्ने छ ।