
काठमाडौं । के पहुँचवाला र अरु सामान्य नागरिकका लागि फरक फरक कानून हुन्छ ? त्यसो भए एउटै प्रकृतिका घटनाका दोषीमाथि गरिने प्रहरी व्यवहार किन फरक फरक हुन्छ ? अहिले यो प्रश्न हरेकका मनमा उठेको छ । अपराध प्रमाणित भएका नेता सलामीका भागदार र अरु दोषीकै अवस्थामा हतकडीका पाहुना कसरी बनाइन्छ ?
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणका आरोपीलाई म्याद थप्न जिल्ला अदालत लगिँदा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार डा. ईन्द्रजीत राईको हातमा हतकडी थिएन । अर्का आरोपी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पनि सोर्हखुट्टे प्रहरी बृत्तमा भीआईपी सुविधासाथ राखिएको छ ।
यही प्रकरणका आरोपी पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले हतकडी लगाउन जरुरी सम्झिएन । उहाँलाई पनि सिंहदरबार प्रहरीले सरकारी पाहुना बनाएर राखेको छ । यही प्रकरणमा म्याद थपका लागि लगिएका आरोपी सानु भण्डारी, केशव दुलाल, सन्दीप रायमाझीलाई हतकडी लगाइएको थियो । म्याद थप गर्न लगिएका पूर्वगृहमन्त्री खाँणको सुरक्षाका लागि प्रहरीले वरिष्ठ सुरक्षा अधिकारी अगुवा पछुवामा खटाएको मात्र नभई हिरासत र प्रहरी परिसरमै विशेष बासस्थान मिलाइएको छ ।
यस विषयमा सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भएको छ । कानूनी स्पष्टता नहुँदा यस विषयमा बारम्बार प्रश्न उठ्ने गरेको स्वयं प्रहरी अधिकारी बताउँछन् । प्रहरी नेतृत्वले भने यसलाई सुरक्षा अधिकारीको तजबिजी अधिकारका रुपमा अथ्र्याउने गरेको छ । जति ठूलो हैसियत उति ठूलो गल्ती हुने सत्य बिर्सिएर प्रहरीको किन यस्तो मनोमानी त ? हतकडी नलगाउदा धेरैको संख्यामा प्रहरीहरुले आरोपितलाई घेरा लगाउनुपर्ने पूर्वप्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान बताउनुहुन्छ ।
यो पहिलो घट्ना भने होइन । बहालवाला सभामुख रहँदा कृष्णबहादुर महरा महिला हिंसा प्रकरणमा प्रहरी हिरासतमा राखिँदा यही नजिर स्थापित गरियो । प्रहरी हाकिम रञ्जन कोइराला पत्नी हत्या गरेको अभियोग प्रमाणित भएपछि पनि उहाँको हातमा कहिल्यै हतकडी देखिएन । भ्रष्टाचार अभियोग लागेका पूर्व गृहमन्त्री खुमबहादुर खड्का, पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता भीआईपी पाहुना रहनुभयो ।
प्रहरीले आफ्नै संगठन प्रमुख ओमभक्त राणा, रमेश चन्द ठकुरी र हेमबहादुर गुरुङ सुडान प्रकरणमा जेल पर्दा हाकिमकै व्यवहार प्रदर्शन ग¥यो । अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले इज्जतको सरकारी पाहुना भएर कैद भुक्तान गर्नुभयो । टीकापुर हत्या काण्डका सूत्रधार भनी अदालतले दोषी ठहर्याइएका रेशम चौधरी नाम मात्रको कैदीका रुपमा प्रहरी नियन्त्रणमा छन् ।
क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई जहाजबाट झर्नासाथ हतकडी लगाइयो । नायक पल शाह अदालतको प्रत्येक बयानमा हतकडीसहित उपस्थित हुने गरेको देखियो । कुनै अभियुक्त भाग्ने खतरा रहेको परिस्थितिको आंकलनमा हतकडीको प्रयोग हुने गर्दो रहेछ । यद्यपि राज्यप्रणालीमा उनीहरुको विगत, आगतको पहुँच मूल्यांकन गरी प्रहरी अधिकारी स्वयं हच्किने गरेको भुक्तभोगी प्रहरी अधिकारी बताउँछन् ।
सियो चोरेको अभियोग लागेका नागरिकमाथि हतकडी र भौतिक सजायमा उत्रिने प्रहरी राजनीति गरेकै नाममा फाली चोरलाई कैदीबन्दी हुँदा पनि भीआईपी व्यवहार किन गर्छ ? प्रश्न सहज भएपनि उत्तर फलामको चिउरा सरह छ ।
प्रतिक्रिया दिनुहोस्