२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्यूठानमा किसानहरुको कृषि बीमाप्रति बढेन चासो


91
Shares

प्यूठान । कृषि तथा पशुपालक किसानको क्षति न्युन गर्न सरकारले कृषि बीमा कार्यक्रम लागू गरेको छ । किसानले तिर्ने प्रिमियमको ८० प्रतिशत भार पनि सरकारले नै ब्यहोर्ने गर्दछ । तर, बीमा रकम दाबी गर्ने प्रक्रिया निकै झन्झटिलो भएका कारण प्यूठानका किसानहरु कृषि बीमातर्फ आकर्षित हुन सकेका छैनन् ।

प्यूठान नगरपालिका ८ टिकुरीका मौरीपालक किसान डिमराज पोख्रेलले गत वर्ष मौरी बीमा गरेका थिए । बीमासँगै उनले कपिलबस्तुमा मौरी चरनका लागी लगेका थिए । सोही बेला मौरी मरेपछि बीमा दाबीका लागी कम्पनीलाई खबर गरे ।

तर, उनलाई बीमा गरे बापतको रकम लिन निकै सास्ती ब्यहोर्नु पप्यो । कम्पनीबाट बीमा रकम लिन निकै सास्ती भएपछि उनले यस वर्ष भने बीमा गरेनन् । क्षती कम गर्न बीमा गरेपनि कम्पनीको सास्तीका कारण बीमा गर्न छाडेको उनले गुनासो गरे ।

किसानले कृषि बीमा गरेबापत बिमाङ्कको ८० प्रतिशतसम्म सरकार र बाकी २० प्रतिशत किसानले ब्यहोर्ने ब्यवस्था छ । कृषि बीमाका लागी किसानले बिमा कम्पनीलाई बिमा गरिदिन आग्रह गरेपनि बीमा कम्पनीले चासो नदिने किसानहरुको गुनासो छ ।

जिल्लामा कृषि बीमा गर्ने किसानको संख्या धेरै भएपनि प्यूठानमा बीमा कम्पनी नहुदाँ तथा कम्पनीका प्रतिनिधिले बीमा गरिदिन चासो नदेखाएको किसानहरु बताउछन् । सरकारले कृषि तथा पशु बीमाको ८० प्रतिशत रकम ब्यहोरेपनि बीमाको ज्ञान किसानलाई थाहा नहुदाँ क्षति ब्यहोर्न बाध्य छन् ।

स्थानीय तह तथा कृषिसँग सम्बन्धित निकायले किसानसँग बीमाको बिषयमा जानकारी नगराएको किसानको गुनासो छ ।

बीमा सम्झौतासम्मको समय सिमाभित्रै किसानलाई क्षति भएमा अधिकतम ९० प्रतिशतसम्म बीमा कम्पनीले क्षतिपूर्ति दिने गर्दछ । कृषि बीमाका किसानलाई आकर्षित गर्न सरकारले बीमाङ्कको ८० प्रतिशतसम्म सरकारले ब्यहोर्ने भएपनि बीमा दाबीका लागि भुक्तानी प्रक्रिया झन्झटिलो भएका कारण किसानहरु बीमा कार्यक्रमतर्फ आकर्षित हुन सकेका छैनन् ।