२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने माधव नेपालको चेतावनी


1.664k
Shares

सिन्धुली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिनुभएको छ ।

अध्यक्ष नेपालले संसद्मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिनुभयो । शनिबार सिन्धुलीमा पार्टीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गर्नुभयो ।

नेकपा एमालेतर्फ इंगित गर्दै अध्यक्ष नेपालले धेरै सिट हुनेहरुको सरकार प्रदेससभामा भकाभक ढलेको भन्दै कटाक्ष समेत गर्नुभयो । बढी सिट भएर मात्र नहुने भन्दै उहाँले सरकार टिकाउन नसक्नेले धेरै गफ गर्न नहुने तर्क गर्नुभयो । नचाहिने काममा फजुल खर्च गर्ने, गर्नुपर्नेमा नगर्ने, आफूहरुले जे गरे पनि ठिक र त्यसको स्तुति गान गाउनु पर्ने भएकाले एमालेबाट विद्रोह गर्न आफूहरु बाध्य भएको उहाँको भनाइ थियो । पानीजहाज, भ्यू टावर नेपालको आवश्यकता नभएको भन्दै उहाँले वर्तमान गठबन्धनको सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले आशा जगाएको बताउनुभयो ।

एकीकृत समाजवादी स्थापना भएको दुई वर्ष मात्र भएकाले आकार ठूलो जस्तो नदेखिए पनि देशभर संगठन फैलँदै गएको उहाँको जिकिर थियो । तर आफूहरूकै कमजोरीले गर्दा राष्ट्रिय पार्टी बन्न नसकेको उहाँको भनाई थियो ।