
काठमाडौं । प्रेमी र काका ससुराबाट बलात्कार भएको भन्दै आन्दोलित बिनु यादव माईतिघर मण्डलामा अनशन बसेको १२ दिन पुगेको छ । लामो समयदेखि न्यायका लागि भौतारिएकी यादवले आफूमाथि भएको बलात्कारको घटना सामसुम पार्न प्रहरी प्रशासनदेखि न्यायलयसम्म लागिपरेको आरोप लगाएकी छन् । सर्वोच्च अदालतको गेट, बसन्तपुर हुँदै माईतीघरमा अनसन बस्न पुगेकी यादवले न्याय नपाएसम्म आन्दोलन नरोक्ने बताउएकी छन् ।
प्रेमी प्रदीप कठायत र काका ससुरा पवन कठायतबाट बलात्कृत भएको भन्दै आन्दोलित भएकी बिनु यादवले माईतिघरमा अनशन बसेकी छिन् । काठमाडौंमा आएर आन्दोलन गरेकी यादवको असन १२ दिनमा पुगेको छ । बैशाख २७ गतेदेखि सुरू भएको उनको अनशन आइतबार १२ औं दिन पुगेको हो । उनले सर्वोच्च अदालत अगाडि बसेर अनशन सुरू गरेकी थिइन । सो दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि उनले बसन्तपुरमा गएर अनशनलाई निरन्तरता दिइन् । त्यसयता उनी माईतीघरमा आएर आन्दोलन गरिरहेकी छन् ।
न्यायको लागि आन्दोलित यादवले ६ बुँदे माग समेत राखेकी छन् । उनले तत्कालीन डिएसपी सुरज कार्की लगायतलाई कारबाही गर्न माग गरेकी छन् । २०७५ सालमा आफूले कालिमाटी प्रहरीमा दिएको जबरजस्ती करणीको उजुरी जबरजस्ती फिर्ता गर्न लगाएको भन्दै डिएसपी कार्की लगायतमाथि अनुसन्धान तथा कारबाही गर्न उनको माग छ । अहिले वार्ताका लागि गृहमन्त्रालयबाट पहल भइरहेको भएपनि आफूले न्याय पाउने कुरामा विश्वास नभएको यादव बताउछिन् ।
आरोपित व्यक्तिले बलात्कारको हदम्याद कटाउन विवाहको षड्यन्त्र गरेको उनको भनाई छ । प्रेमीको दवावमा गर्भपतन गराएर २०७५ चैत २० मा शल्यक्रिया गराएकी यादव २४ चैतमा प्रेमीबाटै बलात्कृत भएको बताउँदै आएकी छन् । गर्भपतन र अप्रेशनको दोहोरो पीडाले रन्थनिएकी यादवलाई प्रहरीले मिलापत्रको कागज पढ्न समेत नदिइ हस्ताक्षर गराइएको उनको आरोप छ ।
विवाहपछि रामेछापको मन्थलीस्थित घरमै बन्धक बनाइएकी यादवमाथि ७ बैशाख २०७९ मा उनकै काका ससुरा (पवन कठायत)ले बलात्कार प्रयास गरेको उनको आरोप छ । तर, रामेछाप प्रहरीले पनि यादवको उजुरी लिएन । उजुरी नलिएपछि प्रहरी मुख्यालय नक्साल पुगेर गुनासो गरेको तीन महिनापछि १५ असार २०७९ मा यादवको उजुरी दर्ता भयो । उजुरी दर्ता भएपनि मुद्दाको सुनुवाई प्रभावकारी हुन नसकेको भन्दै उनी ५ बुँदे माग राखेर आमरण अनशन बसेकी हुन् । न्याय माग्दै उनी यस अगाडि पनि बारम्बार सडकमा ओर्लिएकी छिन् । शक्ति र सत्ताको आडमा आफूमाथि अन्याय भएको बताउँदै आएकी यादवको आन्दोलनलाई गृहमन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारीले सहयोग गर्ने बताउनुभएको छ ।
बलात्कार जस्तो जघन्य अपराधको घटनालाई सामसुम पार्न विवाहको प्रपञ्च गर्ने र हदम्याद कटाएर अदालतबाट सम्बन्ध विच्छेदसम्म गराउन उनका प्रेमी प्रदिप कठायतले शक्ति र सत्ताको चरम दुरुपयोग गरेको देखिन्छ । यसमा प्रहरीदेखि न्यायलयसम्मको मिलेमतोको आशंका उब्जाएको छ ।
बलात्कार भएको भन्दै न्यायका लागि विभिन्न निकाय दौडिएकी महिलालाई सरकारी पक्षबाट उपेक्षा हुनु पक्कै पनि राम्रो होइन् । न्यायका लागि भौतारिएकी यादवले न्याय पाउन मर्नु नै पर्ने हो र भन्ने प्रश्न खडा भएको छ ।
प्रतिक्रिया दिनुहोस्