२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्युठानका पालिकाले गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै


130
Shares

प्युठान । प्यूठानको मल्लरानी गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेकालाई स्वास्थ्य सेवा दिन निःशुल्क शिविर सञ्चालन गरेपछि नागरिकले राहतको महसुस गरेका छन् ।

मल्लरानी गाउँपालिका १ की मोती जैसीको हातको समस्या भएको १६ वर्ष भयो । यो अवधीमा उनी उपचारको लागी भारतसम्म पुगिन तर, उनको हातको नियमित रुपमा चेकजाच गर्नुपर्छ त्यसका लागि नियमित जाँचका लागी बिजुवार सम्म आउनुपर्छ । मल्लरानी गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि राहत मिलेको उनी बताउँछिन् ।

मोती जैसी मात्र होइन सोहि स्थानकी सुमादेवी जैसीको पनि हार्डजोर्नी, तथा घाटिमा समस्या थियो । उनले पनि यही शिविरबाट सेवा लिदै आएकी छिन् । बुढ्यौलीले छोएसँगै शरिरमा विभिन्न समस्या देखिएपनि उनी उपचारका लागी जिल्ला अस्पतालमा आउन सकिन्न । स्थानीय सरकारले गाउँमै निःशुल्क स्वास्थ्य सेवा दिएपछि उनी खुशी छिन् ।

मोती र सुमादेबी जैसी जस्तै मल्लरानी गाउँपालिकाका नागरिकको आर्थिक अवस्था कमजोर हुदाँ रोग बोकेर बस्न बाध्य थिए । तर, अहिले स्वास्थ्य शिविरबाट ठुलो राहत मिलेको छ । पालिकाले शिविरबाट गर्भबती महिलाका लागी भिडियो एक्सरे, ल्याब, हार्डजोनी तथा बाल रोग लगायतका सेवा दिएको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण स्वास्थ्य संस्थासम्म उपचार गराउन नसक्ने अवस्था भएका नागरिकलाई सहज स्वास्थ्य सेवा दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

चेतनाको अभाब तथा आर्थिक अवस्था कमजोर हुदाँ ग्रामिण क्षेत्रका नागरिक रोग लुकाएर बस्न बाध्य छन् । पालिकाले ग्रामिण क्षेत्रमा सञ्चालन गरेको यस्तो निःशुल्क स्वास्थ्य शिविरले नागरिकलाई सहज सेवा पुगेको छ ।

जसका कारण नागरिकले गाउँ घरमै सरकार आएको अनुभुति गर्न थालेका छन् ।