५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


कुकुरको हेरचाहमा सूर्यघाट भैरब आश्रम


884
Shares

काठमाडौं । कुकुरलाई मालिकको आज्ञाकारी विश्वासिलो घरपालुवा जनावरको रुपमा लिइन्छ । त्यसैले पनि तिहारको एक दिन कुकुर विशेष पूजा गर्ने हाम्रो परम्परा रहेको छ । तर, पनि सडकमा रहेका कुकुरहरुको उचित व्यवस्थापन नहुँदा समस्याहरु देखिने गरेका छन् । सडकमा रहेको कुकुरहरुको रेखदेख र हेरचाहर गर्ने मनकारीहरुको कमी भने छैन् ।

शैव दर्शन र नाथ लगायतका विभिन्न सम्प्रदायमा कुकुरलाई भैरबको वाहनको रुपमा लिइन्छ । यहि धार्मिक मान्यताले पनि कुकुरलाई पूजा गर्ने हाम्रो परम्परा रहेको छ । मानव सभ्यताको विकासक्रमसँगै मानवको साथीको रुपमा सँगसँगै बस्दै आएको कुकुर आज्ञाकारी र विश्वासिलोे गुण रहेकै कारण सुरक्षाका भरपर्दो घर पालुवा जनावर मानिन्छ ।

तर, सडकमा रहेका कुकुरहरुको जीवन भने अलि फरक छ । कुकुरलाई पूजा गर्ने हाम्रो परम्परा रहे पनि सडकमा रहेका कुकुरहरुलाई भने बेवास्ता गर्ने गरिएको छ । स्थानीय निकायले पनि सडक कुकुरहरुको दैनिक खाना, रेखदेख र हेरचाहरमा खासै चासो दिएको देखिदैन । तर, भैरब साधना गर्ने साधकहरु भने यस्ता कुकुरहरुको सेवा गर्दे आएका छन् ।

पाशुपत क्षेत्रमा रहेको सूर्यघाट भैरब आश्रमले कुकुरको हेरचाहदेखि दैनिक दुई छाक खानाको व्यवस्था गर्दे आएको छ । करिब २५ वर्षअघि टाइगर बाबा नामका साधकले शुरु गरेको कुकुर सेवालाई हालसम्म उहाँका शिष्यहरुले निरन्तरता दिँदै आएका छन् । यो आश्रम क्षेत्रमा रहेका कुकुरलाई दैनिक रुपमा मासुभात दिने र आवश्यकता अनुसार उपचार गर्दे आएको छ । आश्रमका सहयोगि मनोज पन्त कुकुरमा पनि दया, माया, इष्र्या र इख हुने भएकाले कुकुरलाई असल साथी बनाउने हो भने भावना बुझ्न सक्नुपर्ने बताउनुहुन्छ । आश्रमका अघोरी नवनाथका अनुसार कुकुर भैरबको बाहन भएको कारण पनि भैरब साधनाका लागि कुकुर सेवा अनिवार्य हुन्छ ।

मनकारीहरुको आर्थिक सहयोगका कारण पनि आश्रमले कुकुरको सेवा गर्द आएको तर कहिलेकाँही प्रशासनले आश्रम क्षेत्रमा अनावश्यक दुःख दिने गरेको गुनासो पन्तको छ ।
पशुअधिकार सहित सडकमा रहेका कुकुरको उचित व्यवस्थापन हुनुपर्ने नवनाथ अघोरीको जोड छ ।

मानव र कुकुर बीचको सम्वन्ध अहिलेको भने होइन । मानव स्वार्थ र लोभले दानव बन्दै गईरहेको बेला समाजमा यस्ता मनकारी व्यक्तिहरुका कारण भने मानविय मूल्य र मान्यता अझै हराएको छैन भन्ने सन्देश पनि दिइरहेको छ ।