
काठमाडौं । तत्कालीन राजा श्री ५ बीरेन्द्रको बंशनाश हुने गरी भएको नारायणहिटी दरवार हत्याकाण्डको आज २२ वर्ष पुगेको छ ।
२०५८ जेठ १९ गते शुक्रबार राजा बीरेन्द्रको वंशनाश हुनेगरी नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । बीरेन्द्रको बंशनाश हुनेगरी भएको त्यो हत्याकाण्डलाई आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा कहालीलाग्दो घटनाका रुपमा लिइन्छ । राजपरिवारको बंश नाश भएको यो दिनलाई इतिहासमा कालो दिनका रुपमा पनि स्मरण गरिन्छ । बीरेन्द्र नेपालको दशौं शाह बंशीय राजा थिए । बीरेन्द्रले बि.सं. २०२८ सालदेखि २०५८ जेठ १९ गतेसम्म नेपालको शासन गरेका थिए । राजा बीरेन्द्रलाई विश्वभरी शान्तिवादी राजाको रुपमा लिइन्थ्यो । उनले बि.सं. २०३१ सालमा विश्वसामु नेपाललाई शान्ति क्षेत्र बनाउन प्रस्ताव गरेका थिए । नारायणहिटी दरबारको त्रिभुवन सदनमा राजपरिवारका सदस्यहरु रात्रीभोजमा सरिक भएका बेला यो हत्या काण्ड भएको थियो । यो घटनामा राजा बीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको गोली प्रहार गरेर हत्या भएको थियो ।
सो घटनामा राजा बीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो । तर यो हत्याकाण्डको दोषी को हो भन्ने कुरा पत्ता लगाउन सकिएको छैन ।

हरेक राजनीतिक परिवर्तनपछि दरबार हत्याकाण्डका दोषीलाई कठघरामा उभ्याउने प्रतिवद्धता जनाइए पनि ती अठोट पानीमा लेखिएको अक्षरजस्तो बन्दै आएको छ ।
त्रिभुवन सदनको भवन दरबार हत्याकाण्डपछि पूर्व राजा ज्ञानेन्द्र शाहले २०६८ सालमा भत्काउन लगाएपछि नयाँ स्वरुप बन्ने क्रममा छ । १०८ बटुक राखी पुजा पाठ गरी भत्काईएको रानी ऐश्वर्य ढलेको सो सदनको भर्याङ भने इतिहासको जिउँदो साक्षीको रुपमा अझै पनि यथावत छ । अनि त्रिभुवन सदनको आडमा रहको स्थान जहाँ बीरेन्द्रका कान्छा सुपुत्र निराजनमाथि गोली प्रहार भएको थियो त्यहाँ गोलीका दागहरु दुइ दशक बितिसक्दा पनि जस्ताको तस्तै छ ।

त्यस्तै त्रिभुवन सदनकै आडमा रहेको अर्काे भवनमा मुमा बहामहारानी रत्न लगायत राजपरिवारका केही सदस्य मदिरा सेवन नगर्ने भएकाले त्यही भवनमा रहेका कारण हत्याकाण्डमा बचेको बताइन्छ । त्यस्तै नारायण हिटी भित्रकै सानो पुल जहाँ पूर्व युवराज दीपेन्द्र ढलेका थिए, त्यहाँ ढल्दा पुलको केही ईंटा त्यही रहेको पोखरीमा झरेका थिए त्यो पनि जस्ताकै तस्तै छ । दरबार हत्याकाण्ड भएको जिउँदो इतिहास बोकेको स्थलको केही स्वरुप परिवर्तन गरिए पनि घटनाका कयौं प्रमाणहरु जस्ताको तस्तै छन् । संग्रहालयमा परिणत भइसकेको नारायणहिटी अवलोकन गर्न आउँदा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई सम्झनेको कमी छैन । हत्याकाण्ड भएको त्रिभुवन सदन बाहेक दरबार भित्रका अनगिन्ती ऐतिहासिक स्थलहरु केही जीर्ण अवस्थामा छन् । त्यसबखत सार्क सम्मेलनका बेला बिदेशी आगन्तुकहरु रात्री भोज अघि भेला हुने स्थान पनि छुट्टै थियो ।

त्यसैगरी नारायणहिटी भित्रै रहेको सानो ऐतिहासिक पोखरी जहाँ राजहाँसहरु पालिने गरिन्थ्यो । राजा ज्ञानेन्द्रले दरबार छोड्दा दुई जोडी राजहंश आप्mनो साथमा लग्नु भएको थियो । त्यस्तै नारायणहिटी भित्रै घुम्ने घर भन्ने छ, जहाँ राजपरिवारका सदस्यका बालबालिका खेल्ने गर्थे, जुन घर कुनै समय घुम्ने गर्दथ्यो । दरबारभित्र एउटा क्याक्टस हाउस पनि रहेको थियो । जहाँ बिभिन्न देशबाट ल्याइएका क्याकटसका बोटहरु राख्ने गरिन्थो । तर त्यो पनि स्याहार सुसार नहुँदा अलपत्र अवस्थामा छ । त्यस्तै कुमारी मन्दिर जहाँ राजपरिवारका सदस्यहरुले नित्य पुजा गर्ने गर्दथे,योपनि अहिले स्याहारबिहीन भनेको छ ।

त्यस्तै फोहोरा बगैंचा,तत्कालीन राजाहरुको निजी कार्यालयको अवस्था पनि उस्तै छ । राजाको नीजि कार्यालय पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रले प्रयोग गरेपछि त्यसको ढोका हालसम्म पनि बन्द अवस्थामा नै छ । ७ सय ५४ रोपनी क्षेत्रफलका फैलिएको दरबारका बहुमूल्य बस्तुहरु केही सम्हालिएको अवस्थामा त केही अलपत्र र लथालिंग अवस्थामा छन् । त्यहाँ रहेका हरेक बस्तु र स्थलले राजपरिवारको झल्को दिइरहेतापनि यसको संरक्षण र सम्भारको अभावमा इतिहास मेटिनेमा द्विबिधा छैन ।
दरवार हत्याकाण्ड भएको आज २२ वर्ष पुगेको छ । दश जनाको ज्यान जाने गरी भएको हत्याकाण्डबारे छानबिन गर्न जुन समिति बनाइएको थियो, त्यसपछि यसबारे स्वतन्त्र रुपमा अरु अनुसन्धान हुन सकेको छैन ।
यो हत्याकाण्डबारे अनेक आशंका र अनुमान गरिए पनि घटना अहिले पनि रहस्यमय नै छ ।
प्रतिक्रिया दिनुहोस्