
इलाम । इलामको पवित्र धार्मिकस्थल गजुरमुखी धाममा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ ।
दर्शनार्थीहरुले गजुरमुखिको नाममा भाकल गर्ने गर्दछन् र पूजाआजा गर्न आउने प्रचलन पनि बढ्दो छ । अझ आफ्नो सम्पूर्ण दोष नास हुने र आफूले इच्छाएको कुरा पुरा हुने धार्मिक विश्वास रहेकाले भक्तजनहरुको घुइँचो लाग्न थालेको हो ।
इलाम सदरमुकामबाट ४१ किलोमिटर मोटर यात्रापछि पुगिने धार्मिक स्थल हो गजुरमुखी धाम । सदरमुकामदेखि नेपालटार, मंगलबारे बजार हुँदै धुसेनी र गजुरमुखी जोड्ने पक्कि पुल तरेपछि गजुरमुखी धाम पुग्न सकिन्छ ।
देउमाई किनारामा अवस्थित गजुरमुखीमा धार्मिक आस्था राख्ने भक्तजनहरु आफ्नो भाकल पूरा होस भनि पुग्ने गर्दछन् । गजुरमुखिको नाममा भाकल गर्दा आफुले इच्छाएको कुरा पुग्ने सफल हुने धार्मिक बिश्वास रहिआएकोले नेपालसँगै भारतका भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । बिशेष गरेर आफ्नो भाकल दर्शाउन बिदाको दिन पारेर धार्मिक आस्थाका व्यक्तिहरु आउने गरेको स्थानीय होटल व्यवसायी निर्मला कटुवालले बताउनुभयो ।
धाममा भाकल गरेपछि आफू असफल भएको कुरामा सफलता मिल्ने सन्तान प्राप्ती हुने, बालबच्चाको बोली फुट्ने बिश्वास रहिआएको छ । धार्मिक रुपमा आस्थावान पर्यटनमा रुचि हुनेलाई यो ठाँउ अत्यन्तै सुन्दर गन्तब्य हुने गरेको छ । गजुरमुखि धाममा कार्तिक पुर्णिमाका दिन कार्तिके मेला लाग्ने हुदा यस ठाँउमा बिषेश गरेर रमाइलो मेला भर्ने मानिसहरु आउने गरेका छन् । उतिकै मात्रामा यो धाममा पुजा आजा र भाकलका लागि आउने भक्तजनको संख्या बढ्दो छ ।
गजुरमुखि धाममा पर्यटकहरुको सुबिधाका लागि अहिले सुबिधाजनक रुपमा होटेल लजहरुरुको व्यवस्था गरीएको छ । सवारी सुबिधाको लागि भने अहिले गजुरमुखी धामदेखि झापा बिर्तामोडसम्मको सिधा यातायातको सुविधा रहेको छ ।
यातायातको सुविधाले गर्दा तराई र भारतका धार्मिक आस्थावान र तीर्थालु भक्तजनको उल्लेख्य सहभागिता हुने गरेको छ । स्थानीय सरकारले यसको प्रचारप्रार र व्यवस्थापनमा ध्यान दिनसके यो गजुरमुखी धाम पर्यटकीय हब बन्नेमा संका छैन ।
प्रतिक्रिया दिनुहोस्