
काठमाडौं । केही दिन यता देशभर अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । तापक्रम ४० डिग्री सेल्सीयस भन्दा माथि पुग्दा दिउँसो घर बाहिर निस्कनै समस्या हुन थालेका छ । अत्याधिक गर्मीका कारण तराईका विद्यालयहरु बन्द हुन लागेका छन् । तराईमा लूको सम्भावना रहेको भन्दै मौसमविद्ले सचेत हुन आब्हान गरेका छन् ।
देशका विभिन्न स्थानहरूमा तापक्रम उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि भएको हो । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको विभागले जनाएको छ । यो प्रणाली अझै केही दिन सक्रिय हुने अनुमान गरिएको छ ।
देशका अधिकांस स्थानमा अत्याधिक तापक्रम बढ्दा जनजीवन प्रभावित बनेको छ । तराईका जिल्लामा ४० डिग्रीमाथि तापक्रम मापन गरिएको छ । गर्मीकै कारण नागरिकमा झाडापखला, रुघाखोकीजस्ता समस्या देखिन थालेका छन् । मौसमको हिसाबले चिसो मानिने काठमाडौं उपत्यकामा समेत गर्मीको असर देखिएका छ । काठमाडौंमा आइतबार दिउसो ३२ डिग्री तापक्रम मापन गरिएको छ । बाहिर निस्कनै नसक्ने अवस्था रहेको र निस्की हालेपनि चौतारी छाहारी खोज्नुपर्ने अवस्था रहेको छ ।
गर्मीका कारण बिरामी हुनेको संख्या बढ्न थालेको छ । दिउँसोको समयमा घाममा नहिँड्न र हिड्नै परे छाता प्रयोग गर्ने, प्रशस्त झोल पदार्थ पिउन चिकित्सकले सुझाएका छन् । धेरैजसोे मध्यान्हमा हिँडडुल गर्न छाडिसकेका छन् । अत्यावश्यक उपभोग्य सामान खरिद गर्नेहरु बिहान बेलुकामात्रै निस्कने गरेका छन् । सार्वजनिक यातायातमा पनि गर्मीका कारण उकुसमुकुस हुने गरेको छ । प्रायजसो सवारी साधन र मानिसको चहलपहलले हुने ठाउँहरुमा चहलपहल कम हुन थालेको छ । बाहिरिएका मानिस चिसो पदार्थ खाएर दिन काट्ने गरेका छन् ।
नेपालमा बैशाखदेखि साउनसम्म धेरै गर्मी हुने गर्छ । बढी तापक्रमका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखा पर्छन् । अनपेक्षित तापक्रम बढ्नु वातावरणीय दृष्टिले चुनौतीपूर्ण हो, त्यसबाहेक आफ्नो स्वास्थ्यप्रति आफैं जिम्मेवार हुने दायित्व आमनागरिकमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्