१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकता नहुँदा वृद्धाश्रमका ज्येष्ठ नागरिक भत्ताबाट वञ्चित


429
Shares

काठमाडौं । पाशुपत क्षेत्रअन्तर्गत पञ्चदेवलमा रहेको वृद्धाश्रममा ८४ जना ज्येष्ठ नागरिकले आश्रय लिएका छन् । उनीहरुको दिनचर्या वृद्धाश्रमले तोकेको तालिकाअनुसार चल्ने गरेको छ । यद्यपि आश्रित ८ जना वृृद्धवृृद्धा नागरिकताको अभावमा राज्यले दिने सामाजिक सुरक्षा सुविधाबाट वञ्चित छन् ।

वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको खाना, नाना, छाना र स्वास्थ्योपचारको स्वामित्व सरकारले लिएको छ । यिनीहरुको वृद्धाश्रम यात्रा पछाडि आआफ्नै कथा व्यथा छन् । यहाँ आश्रित कति वृद्धवृद्धा पूर्ण अनाथ छन त कति सन्तान अवहेलना झेल्न नसकेर पारिवारिक जीवन त्यागेकाहरु छन् । संगैको साथीले वृद्ध र एकल भत्ता बुझ्दा आफूहरु रित्तो हात हुनुपरेको उनीहरुको गुनासो छ ।

आशा शर्मा २०४० सालमा वृद्धाश्रममा आउनुभयो यहाँ आउदा नागरिकता थिएन । निर्वाचनमा भोट हाल्न वृद्धाश्रममा भएका सबैलाई हाल्न लगायो तर वृद्धभत्ता भने नागरिकता नभएकाले पाउन सकिदैन भनेकाले अहिलेसम्म भत्ता नपाएको आशा शर्मा बताउनुहुन्छ । शान्त कुमारीसँग पनि नागरिकता छैन । त्यसैले उहाँले पनि भत्ता पाउनुभएको छैन ।

सरकारले एकल महिला र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । एक त वृृद्धवृृद्धा त्यसमाथि परिवारबाट बन्चित हुनु अर्कोतर्फ राज्यको सुविधा नपाउँदा अपहेलित भएको महशुस भएको तीतो पोख्छन् । नागरिकता विहीन वृृद्धवृृद्धालाई नागरिकताका दिलाउन वृद्धाश्रम प्रशासन आफ्नो तर्फबाट पहल गरेपनि सफल नभएको समाज कल्याण परिषद् वृद्धाश्रमकी प्रमुख इन्दिरा पन्त बताउनुहुन्छ ।

सरकारी संरक्षण त्यसमाथि एकै थलोमा रहेका कसैले राज्यको सुविधा पाउने र कसैको हात खाली हुने समस्याप्रति राज्य स्वयं संवेदनशील हुन जरुरी छ ।