२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसदमा अनावश्यक विषयमा वाद-प्रतिवाद हुँदा मुख्य विषय ओझेलमा


130
Shares

काठमाडौं । प्रतिनिधिसभा कानून, नीति नियम र विधिको शासनका विषयमा छलफल हुने थलो हो । जनताबाट निर्वाचित सांसदले बनाएको नियम अनुसार नै प्रतिनिधिसभाको बैठक सञ्चालन हुने गर्छ । तर, पछिल्लो समय संसद प्रतिशोध साँध्ने थलो बन्दै गएको छ । जुनसुकै विषयलाई संसदमा प्रस्तुत गराउन खोजे पनि एक अर्कालाई दोषारोपण गर्ने बाहेक विषय वस्तुका क्रियाकलापहरु कमै मात्र देखिन थालेका छन् ।

संसदका प्रायजसो बैठकमा सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी नै हुने गर्दछ । सोमबारको बैठकमा पनि यस्तै देखियो । प्रधानमन्त्री भारत भ्रमणबारे जानकारी दिन रोस्टममा उभिएका बेलासमेत विपक्षी सांसदरुले धैर्य गर्न सकेनन् । सभामुख देवराज घिमिरेले पटकपटक सांसदहरुलाई नियम, कानून र संसदीय अभ्यासका बारेमा सम्झाइ रहनुपर्‍यो ।

संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधयेक प्रमाणीकरण प्रक्रिया र भारत भ्रमणमा केन्द्रीत हुनुपर्ने थियो । तर बैठकमा भारतले अनुदान दिएको भैंसीको बारेमा सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चल्यो । सभामुखमाथि प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर तमासा गराएको समेत टिकाटिप्पणी भए ।

यसअघि आइतबारको बैठक सिन हज रुपमा सञ्चालन हुन सकेन । विपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका कारण बैठक अवरुद्ध भयो । नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले संसद बैठक नै अवरुद्ध पारे ।

संसदको यही अधिवेशनमा पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको विषयलाई लिएर एमालेले सदन अवरुद्ध गर्‍यो । नयाँ प्रतिनिधिसभा गठन भएपछि पुस यता विपक्षी दलले दुई वटा बैठक अवरुद्ध गरिसकेका छन् ।

यसअघि संसदको नवौं अधिवेशनको चल्दै गर्दा संसदभित्रै नेकपा एमालेले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेको थियो । तत्कालिन समयमा सरकार नभई विधायीकाकै प्रमुख सभामुखको विरुद्धमा नारा लाग्यो । नवौं अधिवेशनका सबै बैठकहरुमा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

दशौं अधिवेशनमा पनि सभामुखविरुद्ध एमालेको अवरोध कायमनै रह्यो । संसदको नवौं र दशौं अधिवेशनका १८७ दिनको समय खेर गएको छ । त्यसपछि बसेका कयौं बैठकहरुमा संसदमा मौनधारण गर्नेदेखि अर्धनग्न हुने, भद्दा पोशाक लगाएकाले सांसदहरुको पोषाकको कोड तोक्नुपर्ने अवस्था आयो । संसदमा यी र यस्तो विभिन्न गतिविधिहरु हुनु नौलो विषय होइन । तर, आफैंले बनाएको बैठक प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका विभिन्न दफाविपरीतका गतिविधि दैनिकजसो हुने गरेका छन् । जसले गर्दा सभामुखलाई बैठकमा अनुशासन र मर्यादा कायम गराउन हम्मे हम्मे पर्दै आएको छ ।

प्रतिनिधि सभामा ११ वटा र राष्ट्रिय सभामा २ वटा विधेयक प्रमाणीकरण हुन बाँकी रहेका छन् । संसदमा कयौं विधेयक प्रवेश गराउने तयारी भए पनि संसदको प्राथमिकतामा रहेका छैनन् । नीति निर्माणका लागि जनताबाट निर्वाचित भएर आएका सांसदहरुका प्राथमिकता अरु नै हुँदा तमाम मुद्दा अलपत्र परेका छन् ।

निर्वाचनको ६ महिनापछि मिनी संसदका रुपमा परिचित १० वटा समिति गठन भएका छन् । तर, समितिको सभापतिको निर्वाचन नहुँदा समितिका बैठकले निरन्तरता पाएका छैनन् । आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा अनियमितता भए नभएको विषयमा अध्ययन गर्नुपर्ने, छलफल गर्नुपर्ने दायित्व संसदीय समितिको भए पनि यतिवेला अधिकांश समितिका हलहरू खाली देखिएका छन् । सभामुख घिमिरेले पटक पटक खबरदारी गर्दा पनि सभापति चयन दलहरुको प्राथमिकतामा परेको छैन ।