
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मंगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । नागरिकता विधेयक कार्यान्वयनमा आउला या नआउला भन्ने बहस जारी रहँदा जन्मको आधारमा नागरिकता पाएका नवलपरासीका धेरै अभिभावकका सन्ततिहरुले भने नागरिकता पाउनुपर्ने भन्दै धर्ना र दवावमूलक कार्यक्रम गर्दे आएका छन् ।
नागरिकता विधेयक प्रमाणीकरण भएपछि वर्षौदेखिको नागरिकता पाउने आशा पूरा भएको भन्दै दीपावली समेत गरेका नवलपरासीका नागरिक अन्ततः निराश भएका छन् । नागरिकता नपाउने भएपछि जन्मका आधारमा नागरिकता पाएका अभिभावकका सन्ततिहरु आक्रोशित हुँदै नारा जुलुस लिएर जिल्ला प्रशासन कार्यालय नवलपरासी घेर्न पुगे । नागरिकता नहुँदा पढाईदेखि सामान्य सेवा पनि लिन नसकेको उनीहरुको गुनासो छ ।
नागरिकता पाउनबाट वञ्चित गराएको भन्दै उनीहरुले विपक्षीदलहरु विरुद्ध चर्को नाराबाजी पनि गरे । उनीहरुले नेताहरुलाई मात्र गाली गरेनन् अरु जिल्लामा नागरिकता वितरण गरे पनि आफ्नो जिल्लामा नागरिकता वितरण नगरेको भन्दै प्रशासन कार्यालय अगाडी प्रमुख जिल्ला अधिकारीविरुद्ध पनि नारबाजी गरे । उनीहरु नागरिकताविहीन नागरिक संर्घष समिति गठन गरेर आन्दोलनमा उत्रिएका हुन् । बाबुले नागरिकता पाएपनि आफूहरुलाई नदिएर शरणार्थीको व्यवहार गरेको भन्दै उनीहरुले राज्यसँग आक्रोशत भएका छन् ।
नवलपरासीमा जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्ततिको संख्या २२ हजारको हाराहारीमा छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाका अनुसार २०६३ र २०६४ मा जन्मको आधारमा वितरण गरेको नागरिकता लिनेको संख्या ८ हजार १ सय ३० रहेको छ । जसमध्ये १ हजार ९ सय ८ जना अभिभावकका सन्ततिलाई वंशजको आधारमा २०७० र २०७४ मा नागरिकता वितरण गरिएको थियो ।
जन्मका आधारमा नागरिकता पाएका अभिभावकका सन्ततिले नागरिकता पाउँछन् वा पाउँदैनन् त्यसका लागि भने अदालतको आदेश नै कुर्नु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्