१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीको शितगंगा नगरपालिकाद्वारा चौरासी पुजाको लागि ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान


182
Shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले चौरासी पुजा गर्नको लागि ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ ।

आर्थिक अवस्था दयनीय भएर चौरासी पुजा गर्न नसक्ने ज्येष्ठ नागरिकसमेतलाई लक्षित गरि सम्पन्न गरिएको सम्मानबाट दुरदराजका जेष्ठ नागरिक पनि खुशी भएका छन् ।

शितगंगा नगरपालिकाले चौरासी वर्ष पुगेका ज्येष्ठ नागरिकलाई २५ हजार नगद सहित सम्मान गरेको छ । चुनावको समयमा ग्रामीण बस्ती बस्तीमा पुग्दा धेरै जेष्ठ नागरिकले आर्थिक अवस्था नहुँदा चौरासी पुजा गर्न नसकेको गुनासो पोखेका थिए । त्यो बाचा पूरा गर्नको लागि नगरपालिकाको पहिलो निर्णय बमोजिम ३ सय १९ जना ज्येष्ठ नागरिकलाई नगद सहित सम्मान गरिएको नगरप्रमुख छविलाल पौडेलले बताउनुभयो ।

चुनावको सययमा बोलेका बाचा पूरा गरेकोमा शितगंगा नगरपालिका वडा नम्बर ३ का जेष्ठ नागरिक खिमानन्द पौडेल निकै खुशी हुनुभएको छ ।ग्रामीण बस्तीमा आर्थिक अवस्था कमजोरकै कारण चौरासी पुजा गर्न चाहेपनि पुजा गर्न नसक्ने धेरै जेष्ठ नागरिक थिए । थोरै रकम भए पनि यो सहयोगले धेरै खुसी भएका छन् । यस्तो कार्यक्रम दिर्घकालिन हुनुपर्ने ८४ वर्ष वर्षिय पौडेलको भनाइ छ ।

हिँडडुल गर्न सक्नेलाई वडा कार्यालय बोलाएर र नसक्नेलाई घरघरै पुगेर सम्मान गरिएको छ । नगरपालिका भित्र १४ वडा रहेका छन् । सोहि बमोजिम वडाबाट ८० लाख रुपैयाँ बजेटबाट जेष्ठ नागरिकलाई सम्मान सहित नगद वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालको भनाइ छ ।

कम खर्चमा चौरासी पुजा गरेर बचेको रकमबाट मन लागेका खानेकुरा खान र औषधि उपचार गर्नलाई केहि भएपनि राहत पुगेको पाका पुस्ताले बताएका छन् । नगरपालिकाका अधिकांश क्षेत्र विकटताले घेरिएको क्षेत्रहरु पनि रहेका छन् ।

यी र यस्ता कार्यक्रमलाई आगामी दिनमा यसै गरी प्रभावकारी रुपमा बस्ती बस्ती पुर्याउन सके पक्कै पनि ज्येष्ठ नागरिकको आर्शिवाद मिल्ने थियो ।