
तेह्रथुम । राष्ट्रका लागि खेलकुद, बिकास, अनुसासन र गतिशिलताका लागि खेलकुद भन्ने राष्ट्रिय नारा नारामै सीमित भएको छ ।
खेल क्षेत्रको बिकास र प्रर्बद्धनको लागि भने राज्यले कुनै दीर्घकालिन योजना बनाउन नसक्दा दुर्गम क्षेत्रमा खेलकुद नारामै सीमित भएको हो ।
खेल क्षेत्रबाट समग्र वडाको बिकास हुने भन्दै तेह्रथुमको म्याङलुङ नगरपालिका–५ का वडाअध्यक्ष राजकुमार सेनीले आफ्नो लाखौँ मूल्य पर्ने जग्गालाई खेलमैदानको लागी नि:शुल्क उपलब्ध गराउनुभएको छ ।
आफ्नो वडामा फुटबल खेलमा रुचि राख्ने अधिक युवाहरु पनि खेलमैदान नभएपछि खेलकुदजन्य क्रियाकलाप गर्न नसकिएको भन्दै झण्डै २० लाख रुपैयाँ पर्ने ८ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।
प्रयाप्त खेलमैदान,तालिम तथा खेलसम्बन्धीत प्रशिक्षणको अभावमा उत्कृष्ट खेलाडीकाे उत्पादनमा कमि छ । खेलकुदले शारिरिक मात्र नभएर मानसिक र बौद्धिकताको समेत विकास हुने अभिप्रायले तेह्रथुमको म्याङलुङमा लाखौ मुल्य पर्ने जग्गालाई फुटबल खेलमैदानको लागी उपलब्ध गराउनुभएको छ ।
खेलमैदान नहुँदा खेल क्षेत्रको प्रबर्द्धन नहुने भएकाले धानखेत मासेर जग्जा नि:शुल्क उपलब्ध गराएको वडाअध्यक्ष सेनीले बताउनुभयो ।
वडा अध्यक्ष मार्फत नि:शुल्क जग्गा प्राप्त भएपछि वडा कार्यलयको ७ लाख रुपैयाँ बजेटले खेलमैदान समेत निर्माण गरिएको छ । आफ्नै वडामा खेल मैदान निर्माणले खेलाडीमा उत्साह थपिएको स्थानीयवासी रञ्जित खड्काले बताउनुभयो ।
खेलमैदान निर्माण गरेलगत्तै नवनिर्मित यस मैदानमा खुल्ला पुरुष फुटबल प्रतियोगिताको समेत आयोजना गरिएको छ ।
खेल मैदान निर्माण गरिएपछि यहाँका युवाहरु दैनिक रुपमा फुटबल, भलिबल, क्रिकेट लगायतका खेल खेल्न थालेका छन् ।
नियमित खेल अभ्यासले शारीरिक तन्दुरुस्ती राख्नको लागि मात्र नभएर राष्ट्रियस्तरका खेलाडी समेत उत्पादनमा टेवा पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्