२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङमा बाह्र वर्षपछि दीक्षित हुँदाको खुशी


559
Shares

दाङ । २०६७ सालदेखि रोकिएको दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौ दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ ।

विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एकवर्षे शिक्षा शास्त्री तथा बिएमएस उत्तीर्ण गरेका ५सय ७५ जना विद्यार्थी दीक्षित भएका हुन् । लामो समयपछि दीक्षित हुँदा उनीहरुका साथै अभिभावक पनि खुशी भएका छन् ।

दाङ तुलसीपुर– १९ का गोकर्ण पौडेलले शास्त्रीमा स्नातक पुरा गरेको एक दर्शकपछि प्रमाणपत्र पाउनुभयो । उहाँले विश्वविद्यालयमा दीक्षित हुन पाउँदा धेरै खुशी लागेको बताउनुभयो । यस्तै, दाङ हेमन्तपुरकी रञ्जु केसी पनि आचार्यबाट दीक्षित हुनुभयो । उहाँले ढिलै भएपनि दीक्षान्त समारोहमा दीक्षित हुनु पाउँदा धेरै खुशी लागेको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरू मात्र नभइ अभिभावकहरू पनि खुशी देखिन्थे । छोराले ढिलै गरी प्रमाणपत्र पाएपनि खुशी लागेको दाङ, तुलसीपुर– १८ का शक्ति प्रसाद अधिकारीले बताउनुभयो ।

यस्तै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विविध कारणले १२ वर्षसम्म दीक्षान्त समारोह आयोजना नसके पनि आगामी वर्षहरूमा नियमित रूपमा दीक्षान्त समारोह आयोजना गरिने बताउनुभयो ।

यस्तै, विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दीक्षान्त समारोहमा देशलाई मर्यादित र आत्मनिर्भर बनाउन शिक्षण संस्थाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । साथै उहाँले विश्वविद्यालयका कर्मचारी तथा विद्यार्थीहरूलाई राजनीतिक आस्था एवं दलभन्दा माथि उठेर शैक्षिक तथा प्राज्ञिक स्तर अभिवृद्धि गर्न समर्पित हुन जरुरी रहेको बताउँदै आफु नेतृत्वको सरकारले यस विश्वविद्यालयका कार्य योजनाहरूलाई सघाउन तयार रहेको जिकीर गर्नुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एकवर्षे शिक्षा शास्त्री र बिएमएस उत्तीर्ण गरेका ४ हजार ७ सय ७३ मध्ये निवेदन दिएका ५ सय ७५ विद्यार्थी दीक्षित भएका छन् ।

२०५४ सालदेखि दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ सालमा चौथो दीक्षान्त समारोह गरेको थियो । विश्वविद्यालयमा आन्दोलन, तालाबन्दी लगायतका समस्याका कारण समयमा दीक्षान्त समारोह हुन सकेको थिएन ।