
काठमाडौं । सर्वत्र आर्थिक कारोबार चौपट भइरहेका बेला ढुंगाको कलाकृति व्यवसाय भने सानदारसँग फस्टाइरहेको छ । पर्यटकीय क्षेत्रदेखि व्यक्तिका घर सजाउन, कलाकौशलको सम्मानदेखि सांस्कृतिक मोहले समेत मानिस ढुंगाको कलामा सम्मोहित भएका छन् । एउटै व्यवसायीले १० लाखमाथिको व्यापार गरिरहेका छन् ।
२५ वर्षदेखि मंगलबजारमा ढुंगाको मुर्ति व्यापार गर्दै आउनुभएका ज्ञानेन्द्र कार्की आफैं सिद्धहस्त कालिगढ हुनुहुन्छ । मकवानपुरबाट उच्च शिक्षाका लागि राजधानी छिर्नुभएका कार्कीले खाजा अनि खाना मात्र पारिश्रमिक लिइ ढुंगाको मूर्ति बनाउन सिक्नुभो । अहिले उहाँ मासिक ८ देखि १० लाखससम्म आम्दानी गरिरहनुभएको छ । यति मात्र नभइ अहिले ९ जना कालिगढलाई रोजगारी दिनुभएको छ । यहाँ बनाइएका ढुंगाका मुर्ति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आपूर्ति हुने गरेको छ । नेपाल नै मुख्य व्यापारको थलो भएपनि भारतसम्म मूर्ति लाने गरिएको छ । विगतको तुलनामो ढुंगाको मूर्तिको व्यवसाय दिनप्रतिदिन फस्टाउँदै गएको मूर्ति व्यवसायी ज्ञानेन्द्र कार्की बताउनुहुन्छ ।

विशेषगरी देवी देवताका मूर्ति ग्राहकको रुचिमा पर्ने गरेको छ । १ हजार रुपैयाँदेखि ३ लाख सम्मका मुर्ति नेपाली बजारमा राम्रो व्यापार हुने गरेको छ । काम गर्दा धुलोमैलो हुने अनि मेहनत अलि बढी पर्ने हुँदा युवापुस्ताले यो व्यवसायमा रुचि विश्लेषण एकातिर छ भने अर्कातिर अलि मेहनत गर्न सके यो व्यवसायले राम्रो प्रतिफल दिने कार्की बताउनुहुन्छ ।
मेहनत गर्न सके सामान्य जीवन बिताउन खासै समस्या नहुने कालिगढहरुको अनुभव छ । घरव्यवहार चल्ने मात्र होइन, यो कर्मले नेपाली मौलिक संस्कृति र सम्पदाको संरक्षणमा मद्दत पुग्ने उनीहरुको विश्वास छ ।
व्यापार घाटाले आर्थिक क्षेत्र तहसनहस भइरहँदा ढुंगाको मूर्तिकलाको उत्साहजनक व्यापार आफैंमा सुखद सन्देश हो ।
प्रतिक्रिया दिनुहोस्