१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपाल र सिक्किमको पर्यटनमा साझेदारिता बढाउने प्रयास


403
Shares

सिक्किम । भारतको सिक्किम राज्यका नेपालीहरुले आफ्नो धार्मिक, सांस्कृतिक पहिचान अहिलेसम्म पनि जोगाइरहेका छन् भन्दा नौलो लाग्छ । सिक्किममा बोलिने नेपाली भाषाको शैली सुन्दा नेपालमै भएको भान गराउँछ । यही सामिप्यताका कारण अहिले नेपाल र सिक्किमको पर्यटनमा साझेदारिता बढाउने प्रयासमा इलामेली पर्यटन व्यावसायी लागेका छन् ।

पर्यटकीय गन्तव्य इलाममा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यमा इलामेली व्यवसायीहरु लागिरहेका छन् । यसैलाई मूर्तरुप दिन भारतका पर्यटन व्यवसायी र पर्यटन सम्बद्ध संस्थासँग साझेदारी बढाउने प्रयास यहाँका व्यवसायीहरुले गरेका छन् । इलाम सँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यसहित विभिन्न सहरमा भुगोलका आधारमा इलामको सक्दो प्रचारप्रसार पनि गरिएको छ । इलामको पर्यटन प्रवद्र्धन गर्न भारतको सिलिगुडीमा चलो इलाम, त्यस्तै सिक्कमको नाम्चीमा घुम्न जाँउ इलाम र सिक्किमको ग्याङ्टोकमा “भिजिट इलाम” नाम दिएर प्रवद्र्धनात्मक कार्यक्रम गरिएकोे होटल ब्यबसायी संघ इलामका अध्यक्ष, पर्यटन व्यवसायी देवी पौडेलले बताउनुभयो ।

सिलगुडी, नाम्ची र ग्याङ्टोकमा त्यहाँका पर्यटनसम्बद्ध सङ्घ, संस्थाका प्रतिनिधिसँग इलामसहित समग्र नेपालको पर्यटनको विकास र साझेदारितामा छुट्टाछुट्टै छलफल पनि भए । त्यहाँका पर्यटन ब्यबसायी सकारात्मक भएकाले पनि इलामको पर्यटनमा टेवा पुग्ने बिश्वासले यहाँका व्यवसायी पनि उत्साहित देखिन्छन् । अर्का पर्यटनव्यवसायी प्रकाश चापागाईले उत्तरपूर्वी भारतका अधिकतम पर्यटकलाई नेपाल भित्र्र्याउन र बसाइ लम्ब्याउने योजना बुनेको बताउनु हुन्छ ।

पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरम लगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले इलामको भ्रमणका लागि आउने गरेपनि अब त्यो संख्या बढ्ने उहाँको विश्वास छ । पूर्वी हिमाली शृङ्खलासँग जोडिएका यी भूभागमा नेपाली भाषीको बाहुल्यता रहेको पाइन्छ । विश्वको पूर्वी हिमाली शृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने भएकाले पर्यटकीय विकास र पर्यावरणीय संरक्षणका यी क्षेत्रको संयुक्त विकासको विषय पछिल्लो समय सबैको चासोको विषय बनेको छ ।

इलाम आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकाले नेपालको पर्यटकीय आकर्षणले उत्तर पूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइन्छ । सिलीगुडी, सिक्किमको नाम्ची, ग्याङ्टोक साथै दार्जिलिङ हुँदै मणिपुरलगायतका स्थानबाट भारतीय पर्यटक काँकडभिट्टा, पशुपतिनगरसहित पूर्वी क्षेत्रका नाका हुँदै इलाम आउने गरेका छन् ।

यता इलाम नगरपालिकाका प्रमुख केदार थापाले इलामको आकर्षणलाई प्रचार गर्नका लागि उत्तरपूवी भारतका सरोकारवालाहरुलाई राखेर योजना बनाउन आफूहरु लागेको बताउनुहुन्छ ।

इलाम पुग्ने पर्यटकमध्ये अधिकांश भारतीय पर्यटकलाई इलाममा आर्किषत गर्न र बसाइ लम्ब्याउन इलामका पर्यटन व्यवसायी पनि आतुर देखिन्छन् ।