
काठमाडौं । यतिबेला फलफूलको राजा मानिने आँपको बजारमा वर्चस्व छ । केही समय अगाडिसम्म भारतीय आँपले धानेको बजारमा हाल नेपालकै उत्पादन फालाफल भएको छ । सिजन अनुसार अहिलेको आँप खान उपयुक्त हुन्छ । तर, बजारमा आँपको बजार न्यून रहेको छ ।
अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष आँप उत्पादन निकै बढेको छ । विभिन्न फलफूल बजार तथा ठेला गाडामा आँप मात्र देखिन्छ । तर आर्थिक मन्दीको प्रभाव फलफूल बजारमा पनि परेको छ । गत वर्षको तुलनामा आँपको भाउ ३० देखि ४० प्रतिशतसम्म घटेको छ भने बजारमा आपूर्ति पनि सोही तुलनामा घटेको छ । अघिल्लो सिजनमा ९० रुपैयाँसम्म रहेको आँपको भाउ हाल आएर ५० रुपैयाँमा झरेको छ ।
नेपालमै सबैभन्दा बढी गुणस्तरको मानिने लाहनको आँपले नै बजार पाएको छैन । आँप किन्नकै लागि भिड लाग्ने फलफूल बजार पनि शून्य देखिन थालेका छन् । पछिल्लो वर्ष भन्दा यस वर्ष आँपको बिक्रीमा ३० देखि ४० प्रतिशतले कमी आएको व्यापारी रमेश कुमार उप्रेती बताउनुहुन्छ । उहाँले अहिले आँपको बजार मूल्य प्रतिकेजी ५० रुपैयाँ भएको बताउनुहुन्छ ।
नेपाली आँपको बजार सुरु नहुँदै भारतीय आँपले राम्रो बजार पाएको थियो । भारतीय आपँले सिजनमा दुई पटक नेपाली बजारमा स्थान ओगट्ने गर्छ । नेपाल आँप आउनुभन्दा पहिला कलकत्ताबाट ‘बेगलपुरी’ आँपले बजार लिन्छ, यो आँप बैशाख जेठमा आउँछ । बैशाख सुरु भएसँगै नेपाली बजारमा कलकत्ताको पँहेलो आँप आउने गर्छ । जेठदेखि बजारमा आउने नेपाली आँपको सिजन असारसम्म हुन्छ । नेपाली आँपले करीब दुई महिने बजार धान्ने गर्दछ । आँपको सिजन सुरु भएसँगै हाल बजारमा शतप्रतिशत नेपाली आँप पाइने व्यवसायीहरु बताउँछन् । तर, बजार अभाव हुँदा किसानले ठूलो घाटा बेहोर्नु परेको फलफूल व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँ बताउनुहुन्छ ।
नेपालमा सबैभन्दा आँप बढी सप्तरी र सिराहा जिल्लामा उत्पादन हुन्छ । यी जिल्लामा ५ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा आँपेका खेती गरिन्छ । नेपालमा ५० हजार हेक्टर बढी क्षेत्रमा आँप खेती हुन्छ । त्यसमध्ये ३९ हजार हेक्टरमा आँपको प्रचुर मात्रामा उत्पादन हुन्छ । तराई, भित्री मधेश तथा मध्य पहाडको तल्लो क्षेत्रमा पकेट क्षेत्र विस्तार गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न सके यसबाट अझ बढी लाभ लिन सकिन्छ ।
नेपालमा आँपले बजार नपाउनुमा आर्थिक मन्दीसँगै निरन्तर परीक्षण नहुँनुलाई पनि लिइन्छ । वाणिज्य, आपूर्ति तथा उपचोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गर्ने हो भने उपभोक्ता स्वास्थ्य हितसहित किसानले परिश्रम र लगानीको प्रतिफल सहजै पाउने थिए ।
प्रतिक्रिया दिनुहोस्