१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ बसपार्कमा ५६ टिकट काउन्टर थपिए


1.755k
Shares

काठमाडौं । काठमाडौं महानगरले उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुनुपर्ने अनिवार्य गरेसँगै ५६ वटा टिकट काउन्टर थपिएका छन् । महानगरको यस निर्णयबारे खालका खालका प्रतिक्रिया सार्वजनिक भएपनि यसले उपत्यकाको सडक चापमा गुणात्मक सुधार हुने धेरैको अपेक्षा छ ।

सार्वजनिक सवारी साधन व्यवस्थित बनाउन असार १ गतेदेखि नयाँ बसपार्क भित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि नयाँ पूर्वाधार बनाउने क्रमले तीब्रता पाएको छ । यसअघि काठमाडौं भित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउन्टर थपिएको हो । महानगरले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थित सञ्चालन भएका टिकट काउन्टर हटाएको थियो ।

बसपार्कको व्यवस्थापना जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले अन्य स्थानमा रहेका काउन्टर हटाइएको जानकारी दिनुभयो । महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ । एकै ठाउँबाट काम गाडी छुट्ने हुँदा यात्रुहरु नठगिने ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले बताउनुभयो ।

बसपार्कभित्र हुने बिचौलियाले यात्रुले दिने हैरानी कम गर्न सरोकारवालासँग छलफल गरी समस्या समाधान गर्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव डेकबहादुर गौतम बताउनुहुन्छ ।

यसअघि राजधानीबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली, बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटा सुमो सञ्चालन हुँदै आएका थिए । काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ७ सय ५० भन्दा बढी ठूला सार्वजनिक सवारी साधन पार्किङ गर्ने क्षमता रहेको छ ।