१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महानगरलाई दृष्टिविहीनको प्रश्न – कला बेचेर खान नपाउने ?


897
Shares

काठमाडौं । काठमाडौं महानगरका बहुआयामिक विकृति सुधार गर्ने क्रममा नगर प्रहरीका कतिपय क्रियाकलाप निर्मम देखिएका छन् । थोरै पूँजीको लगानीबाट आफ्नो दैनिकी चलाइरहेका वर्गदेखि दृष्टिविहीनसम्मले गीत खाएर खान नपाएको गुनासो गर्दै आएका छन् ।

बाटो बाटोमा गीत गाएर उठेको रकमबाट जीविकोपार्जन गर्न बाध्य अपांगता भएका ति व्यक्तिले ध्वनि प्रदुषण गरेको भन्दै काठमाडौं महानगरको नगरप्रहरीले उनीहरुले गायनमा प्रयोग गर्दै गरेको स्पीकर उठाएर ल्याएपछि नगरप्रहरीको कार्यालय टेकुमा अनुनयविनय गर्दै गीत गायका हुन् । नगर प्रहरीले सडक पेटी अतिक्रमण गरी व्यापार व्यवसाय गर्ने मात्र नभई पछिल्लो समय ध्वनी प्रदुषण भएको कारण देखाउँदै सामान जफत गरेको उनीहरुको गुनासो छ । ति दृष्टिविहीनहरु भन्छन् आफ्नो कला बेचेर खान पाउनुपर्ने बताउछन् । हटाउ नै छ भने व्यवस्था सहित छटाउनुपर्ने दृष्टिविहीनको माग छ ।

एकातिर मानवीय दृश्य अर्कातर्फ महानगरको भौतिक र सांस्कृतिक संरचना ठीकठाक पार्ने महानगरको दायित्वबीच मेल नखाएको देखिन्छ । तर, अपांगता भएको व्यक्तिको हकमा भने सचेत तुल्याई सामान फिर्ता दिने गरेको नगर प्रहरी निरिक्षक राजन कुमार कार्की बताउनुहुन्छ ।

महानगरले पैदल यात्रीको निर्वाध हिँड्न पाउने अधिकार सुरक्षित गर्न आफूले यो अभियान निर्मम रुपमा अघि बढाएको बताउँछ । यसक्रममा जफत गरिएका सामानको डंगुरले पहाडको रुप धारण गरेको छ । तर, पीडितहरु जतिसुकै गोता खाएपनि आफ्ना अगाडि कर्मको अर्को विकल्प देख्दैनन् ।

जफत गरिएका लता कपडा लिलाम नहुँदा सम्म स्टोर गरि राखिएका गाडा, ठेला र टोकरीको स्वरुप बिगार्ने गरिएको छ । महानगरले काठमाडौंका विभिन्न ठाउँबाट जफत गर्ने गरेका यस्ता सामान हरेक वर्ष लिलाम गर्ने गरेको छ ।

पछिल्लो समय जफत सामानको परिणाम बढ्दा थान्को लगाउने ठाउँ नै कुरुप बनेको छ । वर्षौंदेखि चल्दै आएको ठेला, पोके व्यापारी र प्रहरीको खेलले अझै विश्राम पाएको छैन । गरी खाने मानिसको अधिकार सुरक्षित गर्दै महानगरले आफ्ना गतिविधि अघि बढाउन आवश्यक छ ।