२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


तस्करले लागू औषधको ट्रान्जिट नेपाल बनाउँदा चुनौति थपियो


663
Shares

काठमाडौं । लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या विश्वकै लागि चुनौतीपूर्ण भएको छ । लागू औषधको व्यापारबाट आर्जित धनराशीले विधिको शासनमा दवाव, आतंकवाद, सत्ता शक्तिमा भाँडभैलो, आपराधिक घटनामा वृद्धि, संगठित अपराधी समूह परिचालनजस्ता जोखिम बढाउने गरेको पाइन्छ । लागू पदार्थले विश्व आतंकित भइरहँदा नेपालमा भने गाँजा खेतीलाई बैध बनाउनुपर्ने भन्दै नीतिगत आवाज उठन थालेको छ ।

नेपालमा विभिन्न लागू औषध दुव्र्यसनीको संख्या एक लाखमाथि रहेको तथ्यांक छ । यसको अवैध तस्करी, बिक्री वितरण, सेवन स्थान डिस्को, डान्सबारहरूमा भइरहेको स्थितिमा निगरानी, नियन्त्रण कारबाहीलाई थप प्रभावकारी बनाउन आवश्यक देखिन्छ । स्थानीय र अन्तर्राष्ट्रिय तस्करहरूले नेपाललाई ट्रान्जिटको रूपमा हेरोइन, अफिम, कोकिन तस्कर गर्न प्रयोग गरेको र गाँजा, चरेस, तरल चरेस नेपालबाटै युरोप, अमेरिकाको बजारमा तस्करी गर्ने गरेको छ । नेपाली समाज यसबाट पीडित बनेको सरकारको स्वीकारोक्ति छ । त्यस्तै, नेपाली समाज लागु औषधको दुव्र्यसनीबाट पीडित बनेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वीकारनुहुन्छ ।

कोकिनको तस्करी दक्षिण अमेरिकाबाट मेक्सिको हुँदै उत्तर अमेरिकामा र कोलम्बियाबाट युरोपमा हुने गरेको छ । आश्चर्यको विषय के छ भने कोकिन नेपाल ट्रान्जिट भएर लाने प्रयासमा थुप्रै भरिया समातिएका छन् । यद्यपि अत्यधिक मूल्यको कारण नेपालमा यसको बजार हुने सम्भावना कम छ । तस्करहरूले उडान गर्ने विमानस्थलमा आएर अकस्मात चेक इन गर्नभन्दा पहिला आफ्नो उडानको गन्तव्य परिवर्तन गर्ने कार्यविधि अपनाएकाले निर्धारित गन्तव्य र उडान गर्न लागेको विमानस्थलमा खतरा महसुस गरी नेपाल आएको हुन सक्ने विज्ञ बताउँछन् ।

उत्तेजनात्मक लागू औषध सेवनले सेवनकर्ताको रक्तचाप उच्च, मष्तिष्क र कानको सेलमा क्षति गर्ने, मानसिक उन्माद, आत्महत्या गर्ने, हृदयघात हुने, कलेजो, मिर्गौला र फोक्सोको स्वास–प्रश्वासमा समस्या, पौष्टिकताको कमी हुने समस्या हुन्छ । दुव्र्यसन गर्ने बाबु, आमाबाट जन्मने बालक जन्मदै दुव्र्यसन सिकारको पीडित, सुस्त मनस्थिति रोगबाट ग्रस्त हुने गरेका छन् । यौन व्यवसायीहरूले औषधी प्रयोग गरी विभिन्न व्यक्तिसँग सम्पर्क गरेर प्राणघातक रोग सर्ने जोखिम रहन्छ ।

लागू औषध सेवन गरेमा मस्तिष्कमा रहेको रसायन बनाउने ग्लान्डहरू निस्क्रिय हुन जान्छ । फलस्वरूप सेवनकर्ताले मानसिक र शारीरिक रूपमा सामान्य हुनको लागि अनिवार्य र नियमित रूपमा लागू औषध सेवन गर्नैपर्ने हुन्छ ।

पूर्वी, दक्षिणपूर्व एसिया र मध्यपूर्व एसियामा कोकिन सेवनकर्ताको संख्या १० लाख रहेको छ । एम्फेटामिनले स्फूर्तिपना ल्याउने भएकाले खेल जगत्को शक्तिवद्र्धक खेलहरूमा एथलेटिक्स, टेनिस, बडी बिल्डिङका खेलाडीले दुव्र्यसन गर्ने गरेको पाइन्छ, जसलाई डोपिङ भनिन्छ । यसरी डोपिङ गरिने पदार्थलाई एनाबोलिक एन्ड्रोजेनिक स्टेरोइड भनिन्छ । एम्फेटामिन, मेथाफेटामिन, एक्सटेसी, कोकिन जस्ता उत्तेजनात्मक औषधी यही प्रकारका स्टेरोइड हुन् । अन्तर्राष्ट्रिय खेलाडीहरूले यसकोे सेवन गर्नाले खेलजगत् बद्नाम भएको छ ।

नेपाल-भारतको खुला सिमाना र चीनको सीमा संवेदनशील छन् । खुला सीमाको महत्त्वपूर्ण नाकाहरूमा, विमानस्थलहरूमा लागूऔषध, विस्फोटक पदार्थ जाँच गर्ने उपकरण, निगरानी र एक्सरेजडित गाडी राख्न र खतराको सम्भाव्य स्थानहरूको सुरक्षा अवस्था पुनर्मूल्यांकन हुन र इन्टेलिजेन्सलाई प्रभावकारी बनाउन आवश्यक छ ।

लागू औषध नियन्त्रण गर्न सुरक्षा निकायले गरेका प्रयासमा अभिभावक, सामाजिक संस्था, आम नागरिकको सकारात्मक भूमिका र सहयोग आवश्यक हुन्छ । यस किसिमको परिस्थितिमा दुव्र्यसनीलाई सल्लाह र उपचारको आवश्यक हुन्छ ।