
दाङ । दाङको नेपाल संस्कृत विश्वविद्यालयमा अहिले अनेरास्ववियु र नेविसंघले फेरी पनि तालाबन्दी गरेका छन् ।
उनीहरुले विभिन्न माग राखेर तालाबन्दी गरेका कारण विश्वविद्यालयका कर्मचारीहरू कार्यकक्ष बाहिर बसीरहेका हुन् ।
विश्वविद्यालयले आफूहरूको मागमा बेवास्ता गरेका कारण तालाबन्दी गरेको विद्यार्थी बताउँछन् । पटकपटक विभिन्न माग गर्दै आएपनि विश्वविद्यालयले बेवास्ता गरेपछि अन्तिम विकल्पका रुपमा तालाबन्दी गर्नु परेको उनीहरूको भनाइ छ ।
विश्वविद्यालय जस्तो पवित्र ठाउँमा तालाबन्दी नहुनु पर्ने भएपनि विद्यार्थीको माग सम्बोधन नगर्दा बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थीहरूको भनाइ छ । उनीहरूले शिक्षण अस्पताल, छात्रावास लगायतका माग राखेर तालाबन्दी गरेको बताउँछन् ।
यता विश्वविद्यालयले भने करिब एक दशकदेखि आयुवर्देको विएएमएसको पठनपाठन शुरु गरेको भएपनि अहिलेसम्म राज्यले कुनै पनि दरबन्दी नदिँदा विद्यार्थीको अपेक्षा अनुसारको सेवासुविधा पुर्याउन नसकेको बताउँछ । यस्तै विद्यार्थीले माग गर्दै आएका विषयमध्ये केही विश्वविद्यालयले सम्बोधन गर्दै आएको जनाएको छ ।
अनेरास्ववियुले शैक्षिक क्यालेन्डर तत्काल प्रकाशित गरेर कार्यान्वयन गर्न, प्रत्येक कक्षा कोठामा प्रोजेक्टर तथा ल्यापटपको व्यवस्था गर्न, प्राचार्यको राजिनामा स्वीकृत गरी नयाँ नियुक्ति नियमानुसार विद्यापीठमै कार्यरतहरूबाट बनाउन लगायतका माग राखेर तालाबन्दी गरेको छ ।
यस्तै, नेविसंघले सेवा आयोगमा विज्ञ व्यक्तिको पदपूर्ति गर्नुपर्नेमा व्यक्तिवादी चिन्तन हावी भएको तथा विश्वविद्यालयलाई भर्ती केन्द्रका रूपमा प्रयोग गर्नु गलत भएको भन्दै त्यसको विरोध गरेको छ । तालाबन्दीले गर्दा शिक्षा आयोगको परीक्षासमेत स्थगित भएको छ ।
विद्यापीठमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको कमिटीले ३ असारमा तालाबन्दी गरेको हो, भने नेविसंघले ९ असारमा तालाबन्दी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्