
काठमाडौं । मुलुकमा आयुर्वेदको औषधिको माग बढ्दो छ ।आयुर्वेदका अनुसार संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जरामा औषधीय गुण हुन्छ । जुन
भूगोलमा मानिसको उत्पति हुन्छ, त्यहीँको माटोमा उत्पादित वनस्पतिबाट प्राप्त औषधी रामवाण हुन्छ भन्ने मान्यता छ । एकातिर तारे होटलको शैलीमा खुलेका भीमकाय अस्पतालको चर्चा चुलिरहँदा दशकौंदेखि चल्दै आएका पुराना आयुर्वेदिक पसलमा विश्वास गर्नेहरुको ठूलो पंक्ति रहेको छ ।
नेपालमा भौगोलीक हिसावबाट पनि आयुर्वेदिक औषधिको ठूलो उत्पादन हुन्छ । विभिन्न नीजि कम्पनी देखि सरकारी स्वामित्वमा रहेका सिंहदरबार बैद्यखाना र जडीवुटी उत्पादन तथा प्रशोधन लिमिटेडले आयुर्वेदीक औषधी उत्पादन गर्दै आएका छन् । त्यस्तै, पुस्तान्तरण हुँदै आएका जडीवुटी पसलदेखि विभिन्न चिकित्सालयमा आयुर्वेद पद्धतीबाट उपचार गरिन्छ । सामान्यतया जण्डिस, ग्यास्ट्राइटिस, पाइल्स, फिस्टुलाका रोगीले आयुर्वेद पद्धति रोज्ने गरेको पाइएको छ ।
नेपालको आयुर्वेदको बजार आधा बढी स्वदेशी उत्पादनले धानेको छ भने अन्य उत्पादन भारतबाट आयात गरिन्छ । दिप्ती आयुर्वेद फर्माकी संचालिका बिमला पाण्डे आयुर्वेदिक औषधीप्रति मानिसको विश्वास बढेको र माग धान्न हम्मे हम्मे परेको बताउनुहुन्छ ।

नेपालमा बैद्यखानाको च्यवनप्रास, शिलाजित र तुलसी चियालगायतका औषधी लोकप्रिय छन् भने जडीवुटी उत्पादन तथा प्रशोधन लिमिेटेडका सन्चो, बामले नागरिक स्तरमा लोकप्रियता पाएका छन् । कच्चा पदार्थमा पनि भान्सामा प्रयोग हुने ज्वानो मेथी देखि दिएर यार्चागुम्बा लगाएतका हजारौँ जडीवुटीहरुको उत्पादन नेपालमा हुन्छ । स्वदेशमा उत्पादित जडीवुटीले जनस्तरमा राम्रो भरोसा पाएको सिंहदरवार बैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा.रामदेव यादव बताउनुुहन्छ ।

जडिबुटी र बनस्पति प्राप्तिका दृष्टिले नेपाल स्वर्गभूमि मानिन्छ । बहुर्राष्ट्रिय कम्पनीको आँखा यता परिरहेका बेला हाम्रा बहुमूल्य सम्पदा विदेशिने र त्यसबाट उत्पादित औषधि उल्टै महँगो मूल्यमा किन्नुपर्ने बाध्यताको अन्त्य कहिले हुने भन्ने प्रश्नको उत्तर सहज छैन ।
प्रतिक्रिया दिनुहोस्