१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा सरकारी तालिमबाट ७ सय बढी युवा आत्मनिर्भर


195
Shares

झापा । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) मार्फत निःशुल्क तालिम लिएकामध्ये झापामा सात सय बढी युवा आत्मनिर्भर भएको पाइएको छ ।

इभेन्टको सहयोगमा नेपाल सरकार अन्तरर्गत प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटीइभिटी) मार्फत निःशुल्क तालिम लिएका सात सय युवा सिप सिकेर आत्मनिर्भर बनेका हुन् ।

इलाम लारुम्वाकी पुष्पा राईले दमकमा सिलाइ–बुनाइ व्यवसाय सुरु गरेको एक वर्ष भयो । सानैदेखि सिलाई बुनाइमा रुची राख्ने राईले दमकमा यो ब्यवसाय सुरु गरेसँगै उनको दिनचर्या बदलिएको हो । हातमा कुनै सीप नभएकी राई कामको खोजीमा भौतारिँदा भौतारिँदै यता लागेकी हुन् ।

व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले प्रदान गरेको निःशुल्क तीन महिने सिलाइ बुनाइ तालिम लिएर त्यहिबाट उनले अहिले आत्मनिर्भर बन्ने बाटो रोजेकी हुन् ।

लारुम्बाकी राई जस्तै दमक नगरपालिकाकी कविता मोते पनि उक्त परियोजनाद्वारा प्रदान गरिएको निःशुल्क सिलाइ बुनाइ तालिम लिएर अहिले दमकमा माया टेलर्स सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेकी छन् ।

स्वरोजगार नहुँदा सामान्य घर खर्च चलाउन समेत समस्या पर्ने गरेकी मोते अहिले मासिक ३० हजार रुपैयाँसम्म बचत गर्न सक्ने भएकी छन् । उनी जस्तै हातमा सिप नभएकी सन्ध्या श्रेष्ठ पनि कल समातेर पौरख गरिरहेकी छन् ।

विश्व बैंकको सहयोगमा नेपाल सरकारले सुरु गरेको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाबाट तालिम लिएर आत्मनिर्भर बन्ने झापामा धेरै छन् । सिप विकास सम्वन्धि तालिममा सहभागी गराएर झण्डै सात सयको हाराहारीमा युवालाई स्वरोजगार बनाएको दमक टेक्निकल एजुकेशन फाउण्डेशनका प्रिन्सिपल श्यामकुमार विष्टले बताउनुभयो ।

युवालाई स्वरोजगार बनाउन थालेको अभियानले अहिले झापामा धेरै युवाले सिप सिकेका छन् । कतिपय युवाले स्वदेशमा नै सिकेको सिपलाई सदुपयोग गर्दै आयआर्जन गर्न सुरु गरेका छन् । हिजो हातमा सिप नहुँदा बेरोजगार भएकाहरु कोही सिलाइकटिङ अनि कोही मोबाइल रिकण्डिसन हाउस सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।