
काठमाडौं । सत्तारुढ दलका सहयात्रीहरुको सरकार छोड्ने धम्की, प्रतिपक्षीको चेतावनी, निजीक्षेत्रको चौतर्फी दवावबीच सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट विना संशोधन पास भएको छ । चौतर्फी आलोचना खेपेको बजेट कार्यान्वयन तहमा आउँदा त्यसले पार्ने प्रभावका विषयमा विभिन्न टिकाटिप्पणी हुने गरेको छ । यद्यपि निजीक्षेत्र अझै सुधारको मौका रहेको बताउँछ ।
प्रतिनिधिसभामा ६ दिनसम्म चलेको माथापच्चीपछि १ सय ४७ सांसदले समर्थन गरेसँगै पारित भएको छ । मन्त्रीदेखि सत्तारुढ दलकै दर्जनौं सांसद असन्तुष्ट रहेको बजेटले कार्यान्वयन तहमा कस्तो आकार ग्रहण गर्ला भन्नेमा कौतुहल बाँकी छ । बजेट सार्वजनिक भएलगत्तै निजीक्षेत्रले चरम असन्तुष्टि जनाउँदै संशोधन नभए सहकार्यमा गम्भीर प्रश्न उठाएको थियो ।
अर्थतन्त्रलाई चलायमान बनाउने बजेट आउने अपेक्षा विपरीत पारित बजेट नेपालको संविधानअनुसार प्रक्रियागत मात्र भएको कारण अझैपनि नमिलेका हेरफेर गरिनुपर्ने विषय मन्त्रिपरिषद्ले निर्णय गरी सच्याउनेमा व्यवासायी आशावादी छन् । मन्त्रिपरिषद्ले निर्णय गरी सच्याउछ भन्ने आशा भएको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बताउनुहुन्छ ।
बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्र पुनःरुत्थान हुनेमा आशंका प्रकट गरेका व्यवसायी बजेट पुरानै शैली अख्तियार गरेको आरोप लगाउँछन् । सर्वत्र आलोचना भइरहँदा अर्थमन्त्री डा. प्रकाशशरण महतले भने बजेटले आन्तरिक उत्पादनमा प्राथमिकता, निजीक्षेत्रको मनोवल उच्च गरी कृषिमा कायापलट गर्ने दाबी गर्दै करको दर हेरफेर नहुने दावी गर्दै आउनुभएको छ । तर विगतमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न नसकेको अवस्थामा हाल ६ प्रतिशतको आर्थिक वृद्धि र राजस्व लक्ष्य समेत प्रभावित हुने उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।
साना तथा घरेलु व्यवसायी महासंघ र नवप्रर्वतनात्मक उद्योगी व्यवसायी बाहेक विभिन्न क्षेत्रसग सम्बन्धित व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ, वनस्पति घ्यू तेल उत्पादक संघ लगायतले बजेटको खुलेरै विरोध गरेका छन् ।
बजेटमार्फत सरकारले कच्चा खाने तेलको आयातमा लाग्दै आएको १ प्रतिशत भन्सार महसुल बढाएर १० प्रतिशत पुर्याएको छ भने तोरीको बीउ आयातमा लाग्ने १ प्रतिशत भन्सार महसुलसमेत ५ प्रतिशत पुगेको छ । कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण समस्याग्रस्त बनेको अर्थतन्त्रलाई मन्दीबाट उठाउने विश्वास गरिएको बजेट अन्ततः हात्ती आयो फुस्सामा अनुवाद भएको छ ।
प्रतिक्रिया दिनुहोस्