१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिँचाइ आयोजना बनेपछि दंगीशरणका किसान दंग


351
Shares


दाङ । प्रशस्त खेतीयोग्य जमीन भएको दाङका कृषकले सिँचाइको सुविधा नपाउँदा समस्या भोग्दै आएका थिए । तर,बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले सिँचाइ पु¥याउन थालेपछि आकाशे पानीको भरमा रहेका कृषक खुशी भएका छन् ।

आकाशे पानीको भरमा खेती गर्दै आएका दाङको दंगीशरण गाउँपालिका– १ रामपुरका कृषक बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले गाउँमा कृत्रिम जलाशय निर्माण गरेपछि खुशी भएका छन् । आयोजनाले यहाँ दुईवटा जलाशयहरू निर्माण गरिदिएको छ । जसबाट सयौँ बिगाहा जमिनमा सिँचाइ पुगेको छ, भने कृषकलाई समयमै खेतीगर्न सहज भएको किसानहरुको भनाई छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका– १ मनकामना देवीस्थित जम्मु चिरा जलाशय निर्माण भएको छ । यसबाट ६० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ भने एक सय पाँच घरधुरी लाभान्वित हुनेछन् । यो आयोजनामा लिफ्टको काम बाँकी छ । गाउँमा एक चरणमा मात्र सिँचाइ हुने भएपनि ड्यामको पानी प्रयोग गर्न पाएमा धेरै राहत पुग्ने स्थानीयको भनाइ छ ।

कृषकले माटो अनुसारको आम्दानी गर्न नसकेको अवस्थामा ड्यामको पानीले धेरै राहत पुग्ने तुलसीपुर– १ का वडाध्यक्ष हुमकान्त सापकोटा बताउनु हुन्छ ।

५६ हजार हेक्टरमा सिँचाइ सुविधा पु–याउने उद्देश्यले २०७३ सालमा बृहत दाङ उपत्यका सिँचाइ आयोजना स्थापना भएको थियो । आर्थिक वर्ष २०७४/७५ देखि शुरु भएको आयोजना आर्थिक वर्ष २०८३/८४ सम्म रहने अनुमान गरिएको छ । यसको कुल लागत ४० अर्ब रुपैयाँ अनुमान गरिएको छ । जिल्लामा ३५ वटा जलाशय निर्माण भएका छन्, भने २६ वटा लिफ्ट सिँचाइ आयोजना सम्पन्न भएका छन् ।

यस्तै २० वटा निर्माणधीन र १८ वटा लिफ्ट सिँचाइका लागि डीपीआर तयार भएको छ । यस्तै भूमिगत सिँचाइ अन्तर्गत हालसम्म ४२ वटा डिप ट्युबवेल निर्माण भएको र १६ वटा निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । जिल्लामा अहिलेसम्म ६ हजार हेक्टरमा सिँचाइ पुगेको वृहत दाङ उपत्यका सिँचाइ आयोजना प्रमुख विराट ज्ञवालीले जानकारी दिनुभयो । खेतीयोग्य जमिन भएर पनि आकाशे पानीमा भरपर्न बाध्य बनेका दाङका कृषकलाई बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले ठूलो राहत प्रदान गरेको छ ।