
प्युठान । रोल्पाका कुपोषित बालबालिकाको अवस्थामा सुधार हुँदै गएको छ । सुत्केरी तथा गर्भावस्थामा पोषिलो खानेकुरा नखाँदा रुन्टीगढी र त्रिवेणी गाउँपालिकाका नवजात शिशुहरू कुपोषित हुँदै आएका थिए । तर, अहिले गर्भवती, सुत्केरी तथा बालबालिकाको पोषणमा सुधार हुँदै आएको छ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका बलबाङकी कृष्णा रोकाको छोरीलाई जन्मदै कुपोषण देखियो । गर्भावस्थामा पोषणयूक्त खानाको अभावले उनको छोरीमा कुपोषण देखिएको हो । तर, त्यो कुरा उनले शिविरमा छोरीको स्वास्थ्य चेकजाँच गर्दा मात्र पत्तो पाईन ।
नेपाल ग्रामीण पूनर्निर्माण संस्था (आरआरएन)ले पोषण सुधार परियोजना अन्र्तगत गाउँ गाउँमा शिविर र जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेपछि दुर्गम क्षेत्रमा यसरी पोषणमा सुधार हुदै आएको हो । बलबाङमा भएको पोषण समुह गठन गरेपछि उनी पनि समुहमा आबद्ध भइन् । समुहमा पोषणको बिषयमा नियमित छलफल हुन थाल्यो । त्यसपछि उनले गर्भावस्था, सुत्केरी र बच्चालाई के कस्ता पोषणयूक्त खानेकुरा खुवाउने भन्ने जानकारी मात्र पाईनन नियमित चेकजाँच पनि गर्न थालिन् । अहिले उनी र उनको बच्चाको पोषणमा सुधार आइरहेको छ ।

उनले अहिले घरमै करेसाबारी निर्माण गरेकी छन् । करेसाबारीबाटै उत्पादित पोषिला र ताजा तरकारी, सागपात गेडागुडी जस्ता खानेकुरा खाने गर्छिन् उनी बताउछिन् ।
यता रुन्टीगढी बाइजाकी भुमिका थापाको बच्चाको तौल र उचाइ कम हुँदा बच्चाले खाना नखाने समस्या थियो । उनी पनि बच्चाको तौल लिन शिविरमा पुगेपछि बच्चालाई कुपोषण भएको देखियो । बच्चालाई शिविरमा लगेसँगै उनको बच्चाले राम्रोसँग खानेकुरा खाने तथा तौल र उँचाइमा पनि सुधार हुदै गएको छ ।
रोका र थापा त उदाहरणमात्र हुन् उनीहरुको जस्तै रोल्पाका रुन्टीगढी र त्रिवेणी गाउँपालिकाका धेरै बालबालिका कुपोषणको शिकार भएका छन् । तर, आरआरएनको पोषण सुधार परियोजनाले सुत्केरी तथा गर्भावती महिलालाई पोषणका बिषयमा नियमित छलफल तथा सहयोग गर्दै आएको छ । जसका कारण बालबालिकाको पोषणमा पनि सुधार हुँदै गएको रोल्पाका पोषण सुधार परियोजना प्रमुख मञ्जिल तामाङले बताउनुभयो ।

रुन्टीगढीमा आरआरएनको पोषण सुधार परियोजना आएपछि पोषणको अवस्थामा सुधार आएको रुन्टीगढी गाउँपालिकाकी उपाध्यक्ष सरिता केसीले बताउनुभयो ।
जनचेतनाको अभाव र आर्थिक अवस्था कमजोर हुँदा यहाँका धेरै गर्भवती, सुत्केरी तथा बालबालिका कुपोषित हुदै आएका थिए । तर, पछिल्लो समय पोषिलो खानेकुराका बारेमा जानकारी हुँदा धेरै बालबालिका र महिलाहरुमा यो परिवर्तन आएको हो ।
प्रतिक्रिया दिनुहोस्