
काठमाडौं । पछिल्लो समयको तथ्यांक हेर्दा नेपालमा सर्वाधिक पर्यटक भारतबाट आउने गरेका छन् । भूकम्पले असर पारेको पर्यटन क्षेत्रमा कोभिड महामारीले थप जटिलता निम्त्याएको उक्त क्षेत्रमा हाल केही सुधार आएको अनुभव गरिएको छ ।
तर, सबैभन्दा धेरै नेपाल भित्रिने भारतीय पर्यटकले नेपालमा ५ सय दरको भारतीय नोट सहज नचल्दा सास्ती बेहोर्नुपरेको छ ।
भारतसँग नेपालको खुला सीमाना भएका कारण र नेपालको सबैभन्दा ठूलो व्यापारीक केन्द्र भारत रहेपनि नेपालमा भने भारतीय १ सय रुपैयाँ मात्र चल्ने र भारतीय सरकारकै आग्रहमा भारतीय रुपैयाँ सटहीको व्यवस्था समेत नेपालमा नहुँदा त्यसको असर पर्यटन क्षेत्रले भोग्नुपरेको छ ।
यसले पर्यटकको आगमनमा समेत समस्या पार्ने व्यवसायी बताउँछन् । पर्यटन उद्योगमा पछिल्लो समय आएको सुधारबाट उत्साही बनेका व्यवसायी यसखाले समस्याबाट पीडित बनेका छन् । भारतीय पर्यटकमार्फत आएको पाँचसयको नोट सटही सुविधा नहुँदा व्यवसायी समस्यामा परेका छन् ।
पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि जुलाई २ सम्म भारतबाट मात्रै ३८ हजार ८ सय ४५ जना हवाई मार्गबाट आएको तथ्यांक छ । तर, भारतीय सीमाना खुला भएका कारण अनौपचारीक क्षेत्रबाट नेपाल भित्रिने भारतीय पर्यटकको भने यकिन तथ्यांक नरहने पर्यटन बोर्डको भनाई छ । तथापि भारतबाट मोटामोटी वार्षिक १७ देखि १८ लाखसम्म भारतीयले नेपाल भ्रमण गर्ने गरेका छन् ।
भारतबाट भित्रिने पर्यटकको संख्या हेर्दा नेपाल पर्यटन उद्योगमा पुनरुत्थान हुन थालेको तथ्यांकले बताउछ । नेपाल आउने पर्यटकमध्ये भारतीय नागरिकको सूचीमा सबैभन्दा माथि छन् भने अमेरिका, अस्ट्रेलिया, थाइल्यान्ड र चीनका धेरै नागरिक नेपाल आएको रेकर्ड छ । ५ सयको नोट सहज नचल्दा समस्या भोग्नुपरेको गुनासो भारतीय पर्यटकको छ ।
यता लामो समयपछि पर्यटन उद्योगमा देखिएको सुधारका कारण व्यवसायी आशावादी बनिरहँदा भारतीय रकम सटहीको सुविधाको अभावमा पर्यटकले बसाई छोट्याउने गरेका छन् । केही व्यवसायीले भने भारतीय पर्यटकको सहजताका लागि सटही सुविधा दिने गरेको बताए ।
एकातिर पाहुना भित्र्याउने हुटहुटी देखाउने अर्कातिर पर्यटकका समस्याप्रति बेखबर बन्ने सरकारको कार्यशैलीले अन्ततः पर्यटन उद्योगले धक्का व्यहोर्ने निश्चित छ ।




प्रतिक्रिया दिनुहोस्